काठमाण्डौ । सम्बन्धविच्छेद गर्ने घोषणा गरेकै दिन अमेरिकी धनाढ्य बिल गेट्सले पत्नी मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलरबराबरको सेयर ट्रान्सफर गरेका छन्। 

गेट्स दम्पती सामाजिक सञ्जालमार्फत दुई दिन अघिमात्र सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए। उनीहरुले २७ वर्षे वैवाहिक सम्बन्धलाई अब निरन्तरता दिन नसकिने बताएका थिए।

बिल गेट्सले सेयर ट्रान्सफर गरेसँगै मेलिन्डा अब दुई मेक्सिकन कम्पनी बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन्। कोकोकाला फेस्मा उनको नाममा ४.९ प्रतिशत सेयर र टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयर कायम भएको छ। 

बिल गेट्स र मेलिन्डाले अदालतमा सम्बन्धबिच्छेको मुद्दा हाल्नुअघि नै सम्पत्ति बाँड्ने सम्झौता गरेको खुलेको छ। सोहीअनुसार बिल गेट्सले मेलिन्डाको नाममा सेयर ट्रान्सफर गरेको बताइएको छ। 

बिल गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्सफर गरेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

बिल गेट्स हाल संसारकै चौथो धनीव्यक्ति छन्। उनको कुल सम्पत्ति १२४ अर्ब अमेरिकी डलरबराबर रहेको छ। 

बिल गेट्स र मेलिन्डाले सन् १९९४ मा विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्। – एजेन्सी