काठमाण्डौ । दुई ठूला अर्थतन्त्रको बीचमा रहेर पनि नेपालले भनेजस्तो आर्थिक प्रगति गर्न सकेको छैन । न त समस्या पर्दा भनेजस्तो सहयोग नै पाउन सकेको छ । सत्ताको बागडोर सम्हाल्ने शासकहरुको इच्छाशक्तिमा कमी र अपरिपक्वताका कारण यस्तो हुँदै आएको छ । आफू निकटका शक्ति राष्ट्रहरुको सहयोगमा देश र जनताका लागि राहात हुने काम पनि गर्न सकिन्छ र बलिया छिमेकीको साथ लिएर चुनौतिलाई अवसरमा परिणत गर्न सकिन्छ भन्ने पाठ नेपाली शासकहरुले सिक्न नसकिरहेको बेला पाकिस्तानले भने महामारीको बेला राम्रो उदाहरण पेश गरेको छ । पाकिस्तान सरकारले चीनको सहयोगमा देशमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने महत्वपूर्ण सफलता पाएको हो ।
बीबीसीका अनुसार पाकिस्तानी सरकारले चिनियाँ सहयोगबाट देशमै उत्पादन गरेको कोरोनाको पहिलो खोपलाई इन्कलाब अथवा क्रान्ति भनेको छ । 'पाकभ्याक' नामको खोप मंगलबार लञ्च गरिएको छ ।
पाकिस्तानका केन्द्रीय योजनामन्त्री असद उमरले यसलाई महत्वपूर्ण दिन बताउँदै पाकिस्तानका लागि यो भ्याक्सिन इन्कलाब अर्थात कुनै क्रान्ति भन्दा कम नभएको बताएका छन् ।
उनले यो ऐतिहासिक सफलताका लागि पाकिस्तानको स्वास्थ्य टिम र चिनियाँ सरकारका विज्ञहरुप्रति समेत आभार प्रकट गरेका छन् । उनले पाकिस्तानका नागरिकहरुको पहिलो रोजाई चीनमा बनेको भ्याक्सिन नै भएको समेत सो क्रममा बताएका छन् । पश्चिमा देशहरुमा बनेका भ्याक्सिन पाकिस्तानीको रोजाईमा नरहेको उनले सो क्रममा बताएका समाचारमा उल्लेख गरिएको छ ।
उनले सरकारले गरेको एक सर्वेक्षणमा सहभागी बहुसंख्यक पाकिस्तानीले चीनले उत्पादन गरेको सिनोफर्मा नामको भ्याक्सिन नै रोजेका समेत सो क्रममा जानकारी दिए ।
उनले थपेका छन्-'तर अब हामीले पाकभ्याकलाई नै अगाडि बढाउनुपर्ने हुन्छ । किनभने यसलाई हामीले मिलेर तयार गरेका छौं । यो एक क्रान्ति हो ।'
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक डाक्टर फैजल सुल्तानले भनेका छन् कि पाकिस्तानले कठीन चुनौतिलाई आफ्नो साथी देशको मद्धतबाट अवसरमा परिणत गर्ने कोशिश गरिरहेको छ ।
उनले कोभिड १९ को लडाईको सामना गर्ने क्रममा आफूहरुको साथी चीन आफ्नो सबैभन्दा नजिक रहेको समेत बताएका छन् ।
उनका अनुसार पाकिस्तानमा भ्याक्सिन बनाउनका लागि चीनले कच्चा पदार्थ उपलब्ध गराएको थियो । तर, यसपछि पनि यसको पूर्ण विकास गर्न संभव थिएन । उनका अनुसार केही दिनपछि नै पाकिस्तानको पहिलो कोभिड भ्याक्सिनको ठूलो परिमाणमा उत्पादन थालिनेछ ।
पाकिस्तानी अखबार डनको एक रिपोर्टलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार पाकभ्याक खोपलाई चीनको सरकारी फर्मास्यूटिकल कम्पनी केन्सिनोले विकसित गरेको हो र त्यसलाई कन्सन्र्टेड रुपमा पाकिस्तान ल्याइँदैछ । यसलाई इस्लामावादस्थित नेशनल इन्स्टिच्यूट अफ हेल्थ(एनआइएच)मा प्याक गरिनेछ ।
रिपोर्टका अनुसार केन्सिनोको भ्याक्सिन चीनको पहिलो भ्याक्सिन थियो, जसको क्लिनिकल ट्रायल पनि पाकिस्तानमै गरिएको थियो । पाकिस्तानका १८ हजार मानिसमा यो खोप प्रयोग गरिएको थियो ।
डाक्टर फैजलले एक ट्वीट गर्दै भनेका छन्-'एनआइएचमा आज फेसिलिटी सुरु भएको छ, जहाँ भ्याक्सिनलाई तयार गर्ने काम गरिन्छ । यो आत्मनिर्भरताको यात्रामा सफलता हासिल गर्नका लागि एक कोशेढुंगा बन्नेछ ।'
पाकिस्तानमा स्वदेशी भ्याक्सिन बनेको खबर त्यस्तो बेलामा आएको छ, जतिबेला त्यहाँ गत ३ महिनाको अवधिमा पहिलोपटक पोजिटिभीटी रेट ४ प्रतिशतभन्दा तल झरेको छ ।
पाकिस्तानमा बुधबार लगातार दोश्रो दिन संक्रमितको संख्या २ हजारभन्दा कम रहेको छ । सरकारले जारी गरेको आँकडा अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १८४३ नयाँ संक्रमित भेटिएका छन् । सो क्रममा ८० संक्रमितको ज्यान गएको छ । यसको एकदिनअघि १७७१ संक्रमित थपिएका थिए भने ७१ जनाको ज्यान गएको थियो ।
पाकिस्तानमा हालसम्म कोरोना महामारीका कारण ९ लाख २२ हजार ८२४ मानिस संक्रमित भएका छन् । लगभग २१ हजारको मृत्यु भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago