काठमाण्डौ । चीनले शुक्रबार तिब्बतमा पहिलोपटक बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ। 

यो बुलेट ट्रेन तिब्बतको राजधानी ल्हासादेखि निंगचीसम्म सञ्चालन हुनेछ। ल्हासादेखि निंगचीबीच करिब ४३५.५ किलोमिटर दूरीमा यो ट्रेन सञ्चालन हुनेछ। यसको औपचारिक उद्घाटन भने चीनको सत्ताधारी कम्युनिस्ट पार्टी अफ चाइनाले आफ्नो शताब्दी वर्षका अवसरमा गरिनेछ। 

चीनको सरकारी समाचार एजेनसी सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त इलामा शुक्रबार पहिलोपटक बिजुलीबाट सञ्चालित बुलेट ट्रेन सञ्चालन गरिएको छ। सिचुआन तिब्बत रेलवे तिब्बतभित्र किंगाची–तिब्बत रेलवेपछि दोस्रो हो। 

गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बमा नयाँ रेल परियोजना सञ्चालन गर्न निर्देशन दिएका थिए। यो नयाँ बुलेट ट्रेन सञ्चालन भएसँगै ल्हासादेखि चेंगदुबीचको यात्रा ४८ घन्टाबाट घटेर १३ घन्टामा छोटिएको छ। 

रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुल निर्माण गरिएका छन्। ल्हासा-निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्नेछ।

रेलमार्गको ९० प्रतिशत भाग  समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ। यो रेलमार्ग बनाउने काम सन् २०१४ मा सुरु गरिएको थियो। करिब ४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको थियो। – एजेन्सी