काठमाण्डौ । मर्जरमा गएर १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी कायम गरेका लघुवित्त वित्तीय संस्थाले काठमाण्डौ उपत्यकामा कर्पोरेट कार्यालय स्थापना गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ। लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी चुक्तापुँजी कायम गरेमा काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकाबाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति दिने भएको हो। 

यसैगरी १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेशस्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकाबाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति दिइने राष्ट्र बैंकले जनाएको छ। 

यसैगरी थोक कर्जा प्रदायक लघुवित्त वित्तीय र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीयबीच एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीयले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीयका रुपमा कार्य गर्न पाउने भएका छन्।