काठमाण्डौ । हालसम्म थुप्रै अन्तर्राष्ट्रिय संगठन, वित्तीय एजेन्सी र केही देशहरुले अफगानिस्तानमा दिँदै आएको वित्तीय सहयोग रोकिसकेका छन्।

विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएका परियोजनाहरुमा गर्दै आएको वित्तीय सहयोग रोकेको छ। 

यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले अगस्टमा ४४० मिलियन डलर सहयोग गर्ने भएको थियो। त्यो पनि रोकिएको छ।

उता अमेरिकाले अफगानिस्तानको ७ अर्ब डलरको विदेशी मुद्रा भण्डार फ्रिज गरिदिएको छ। 

जर्मनीले पनि अफगानिस्तानलाई दिने आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ। यो वर्ष जमर्नीले अफगानिस्तानलाई ५०० मिलियन डलर दिने तयारी गरेको थियो। स्विडेन र फिनल्यान्ड पनि वित्तीय सहयोग रोक्ने निर्णय गरेका छन्।

युरोपियन युनियनले पनि अफगानिस्तानको विकासका लागि दिइने आर्थिक सहायता रोक्ने जनाएको छ। युरोपियन युनियनले अफगानिस्तानलाई सन् २०२१ देखि सन् २०२४ बीच १.४ अर्ब डलरको उपलब्ध गराउने जनाएको थियो।

यद्यपि मानवीय सहायतासम्बन्धी सहयोग भने बढ्ने सम्भावना देखिएको छ। बेलायतले यो वर्ष अफगानिस्तानलाई मानवीय सहायताका रुपमा दिइने रकम बढाएर २६८ मिलियन पाउन्ड पुर्याउने जनाएको छ।

गत वर्ष अफगानिस्तानलाई दाता संगठन र विभिन्न देशहरुको एउटा कन्फ्रेन्समा १२ अर्ब डलरको सहायता राशिने दिने वचन दिएका थिए। तर सत्तामा आएको बदलावले यो प्रतिबद्धतामा असर पर्ने देखिएको छ। – एजेन्सी