काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ‘सरप्राइज लाभांश’ दिने भएको छ ।
हिमालयन बैंक लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशतसम्मको ‘सरप्राइज लाभांश’ दिने तयारी गरेको हो । कोरोनाकालमा समेत बैंकले नाफा बढाउँदा गत वर्षको भन्दा बढी लाभांश घोषणा हुनसक्ने अवस्था बनेको हो । आर्थिक वर्ष २०७६/७७ का लागि यो बैंकले २० प्रतिशत लाभांश वितरण गरेको थियो । सोमध्ये १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको थियो ।
राष्ट्रबैंकस्थित एक उच्च स्रोतकाअनुसार हिमालयन बैंकले गत आर्थिक वर्षको ब्यालेन्ससिट फाइनल गरी अप्रूभलका लागि केन्द्रीय बैंकमा शुक्रबार पठाएको छ । उसले पठाएको वासलातमा खासै संसोधन गर्न आवश्यक नरहेको र सरसर्ती हेर्दा यो बैंकलाई बढीमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न मिल्ने गरी अप्रूभल दिने तयारी भइरहेको छ ।
‘हामीले चाँडै नै यो बैंकको ब्यालेन्ससिट अप्रूभ गरी लाभांश घोषणा गर्ने वातावरण बनाउन लागेका छौं ।’ राष्ट्रबैंकका ती उच्च अधिकारीले भने–‘तर, बैंकका प्रमोटरहरुले नगद लाभांशमा अलिक जोड गरिरहेकोले यो विषयमा छलफल भइरहेको छ ।’
राष्ट्रबैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको आधार बलियो बनाउने भन्दै नगद लाभांशभन्दा बोनस सेयर वितरणलाई प्राथमिकतामा राख्दै आएको छ । तर, यो नीतिविपरीत हिमालयन बैंकका केही संचालकले समेत राष्ट्रबैंकसम्मै केही बढी नगद लाभांश घोषणा गर्न पाउनुपर्ने भन्दै दवाब सिर्जना गरिरहेका छन् ।
स्रोतका अनुसार छिटोमा दशैंअघि र ढिलोमा तिहारअघिसम्म हिमालयनले लाभांश घोषणा गर्नेछ । हिमालयन बैंकका संचालकहरुले भने आफू निकटस्थहरुसँग यसपटक लगानीकर्ताका लागि सरप्राइज लाभांश आउने र नगद लाभांशमा जोड दिइने बताएका समेत स्रोत दाबी गर्छ ।
गत आर्थिक वर्षको नाफाबाट हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये कुनैको पनि २० प्रतिशतभन्दा माथि छैन ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको हिमालयन बैंकको हाल दोश्रो बजारमा कारोबार निलम्बित अवस्थामा छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19