-अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समय निरन्तर बढेको सेयर बजार परिसूचक ३२०० पुगेपछि लगातार घटिरहेको छ । कहिले धितोपत्र बोर्डको बदनियतपूर्ण ५१ कम्पनीको लिष्ट त कहिले राष्ट्रबैकको सेयर धितो कर्जा सम्बन्धी नयाँ व्यवस्था जस्ता कारणले बजारमा भारि करेक्सन आइसकेको छ । 

दशैंविदा सकिएलगत्तै बढ्ने ठानिएको बजारमा सोमबार फेरि भारि करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाहरुले अनपेक्षित रुपमा ब्याजदर बढाइदिएपछि त्यसको नकारात्मक असर बजारमा परेको छ। 

सेयरबजारलाई मुख्य गरेर ब्याजदरले नै प्रभाब पार्ने गर्छ । तरलता अधिक हुँदा धेरै ब्याजदर घटेकोमा लकडाउन खुलेपछि ऋणको माग बढेसँगै तरलतामा केही दवाब आएर बैक तथा बित्तीय क्षेत्रमा समस्या देखिएको छ । योसँगै केही बाणिज्य बैंक र खासगरी डेभलपमेन्ट बैक तथा फाइनान्सलाई आफ्नो निक्षेप जोगाउन समस्या हुँदा ब्याजदर बढाउने बाध्यता आइलागेको देखिन्छ । 

यसै बिषमा आज हामीले केही बैंकर तथा अर्थशास्त्रीलाई बढेको बैंकदरको कारण सेयरबजारमा कस्तो असर गर्ला भनेर सोधेको छौं । 

अर्थशास्त्री डा. मीनबहादुर क्षेत्रीको बिचारमा मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्नुलाई अस्वभाविक मान्नु हुँदैन । 'किनकी सधैं ब्याजदर न्यून बिन्दुमा रहँदैन । पहिले पनि ८ प्रतिशतसम्म त थियो नै ।' उनले भने-'सेयरबजारमा लागेका कोही पनि मानिसले फिक्स्ड डिपोजिटमा लगेर पैसा राख्दैन । ब्याजदर १४ प्रतिशतसम्म नै पुग्यो भने सामान्य असर गर्ला तर, ११ प्रतिशत पुग्दैमा खासै असर गर्छजस्तो लाग्दैन ।' 

उनको भनाईमा अहिले दसैंको समयमा किनमेल र ऋण तिर्नुपर्ने कारणले तरलतामा दवाब सिर्जना भएको हुनसक्छ । 'बैंकभन्दा बढी ब्याज त सहकारीले पनि दिन्छन, तर बिश्वासको कारण मानिसले पैसा उता राख्दैनन् नि ।' उनले अगाडि थपे-'एफडिको पैसा भनेको चाहेको बेला झिक्न पनि मिल्दैन । तर सेयरमा लगानी गरेको पैसा आबश्यक भए २/४ दिनमै पनि पाइन्छ ।'  

उनले लगानीकर्तालाई अहिले नै धेरै नअत्तालिन आग्रह गरे । उनले ब्याजदरमा अस्वभाविक र अस्वस्थ खालको प्रतिस्पर्धा हुन थाल्यो भने राष्ट्रबैंकले नियमन गर्नुपर्ने सुझाव समेत दिए । 

शाइन रेसुंगा डेभलपमेन्ट बैकका सञ्चालक बीरेन्द्र बिष्ट पनि अहिलेको बैंक तथा बित्तीय संस्थाले गरेको ब्याज वृद्धि स्वभाविक रहेको दाबी गर्छन् ।

'पहिले सनराइज र शाइन रेसुंगाले बढाए । त्यसकै कारण एनआइसी एशिया लगायतले पनि आफ्नो डिपोजिट जोगाउन ब्याज बढाउन बाध्य भए ।' उनले भने-'सीडी रेसियो टाइट भएका कारण नै अहिलेको अवस्था आएको हो ।' 

उनले बजारमा तरलता अभाव रहेको र रेमिटान्सको ग्रोथ पनि कम भएको उल्लेख गरे । 

बिष्टले भारतको उदाहरण दिदैं भने-'त्यहाँ एफडिआइ (फरेन डाइरेक्ट इन्भेष्टमेन्ट ) पनि आएको छ, तर तरलताको अभाव नै छ । हामीकहाँ एफडीआइ आएको पनि छैन । सरकारी खर्च पनि भने जस्तो नभएकोले अहिले तरलताको अभाब भएको हो । संसारभर मुद्रास्फिति बढेको छ । नेपालमा पनि बढ्नसक्छ । माग र आपूर्तिले चलेको बजारमा लोनको माग बढेको समयमा अहिले केही अंक ब्याज बढ्नु सामान्य कुरा हो ।'