काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले खूद नाफातर्फ उल्लेख्य प्रगति गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३६ करोड ९ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ५६ करोड १५ लाखको उचाई चुमाएको हो । 

अघिल्लो वर्ष ५२ करोड ३३ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ८० करोड ५१ लाखको उचाईमा पुगेको छ भने ९५ करोड ५३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब २६ करोड पुगेको छ । 

यो बैंकको समेत खूद नाफा उल्लेख्य बढ्दा त्यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म १५.९५ रुपैयाँ रहेको इपीएस बढेर यो वषृ २४.८१ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ३१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेको थियो । यहीकारण बैंकको त्रैमासको अन्तसम्ममा सीडी रेसियो ८८.१० प्रतिशत कायम भएको छ । 

अघिल्लो वर्ष ०.४२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढेर ०.५० प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ५.६६ प्रतिशत, बेस रेट ७.६३ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.५६ गुणा, प्रतिसेयर नेटवर्थ १४८.३ रुपैयाँ र तरलता अनुपात १९.६२ प्रतिशत कायम भएको छ ।