काठमाण्डौ । विश्व विख्यात ई–कमर्स कम्पनी अमेजनको वेबसाइट दुरुप्रयोग गरी भारतमा गाँजा तस्करी भएको खुलासा भएको छ। 

सोही कारण अमेजन भारतका वरिष्ठ अधिकृतहरुमाथि लागूपदार्थ कारोबारको मुद्दा परेको छ। गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। ती व्यक्तिले अमेजन वेबसाइटमा ‘स्टिभिया’को पात भन्दै भाङ बेचेका थिए।

अमेजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम रहेको जनाएको छ। ‘भारतमा अमेजनको प्रयोग गरी गाँजा तस्करीका विषय हामीलाई जानकारी गराइएको छ र हामी अहिले यसमाथि अनुसन्धान गरिरहेका छौँ’, अमेजनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्पनीले त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्नेछ।’ 

भारतीय प्रहरीले अहिले अमेजन भारतका कार्यकारी निर्देशकलगायत कर्मचारीमाथि लागूऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको जनाएको छ। 

अमेजनकोे वेबसाइट प्रयोग गरेर लगभग १ लाख ४८ हजार अमेरिकी डलरबराबरको गाँजा बेचिएको अनुमान भारतीय प्रहरीको छ। – बीबीसीबाट