– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशनमा कडाइ गरेको छ। 

संशोधित व्यवस्थाअनुसार अब थोक कर्जा करोबार गर्ने र सर्वसाधारणबाट पनि निक्षेप संकलन गर्ने राष्ट्रियस्तरका लघुवित्तले अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस (एनएफआरएस) लेखाप्रणालीबाट आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ। यस्तो व्यवस्था यसअघि राष्ट्रियस्तरका लघुवित्तलाई अनिवार्य गरिएको थिएन। 

आगामी असार मसान्तबाट एनएफआरएस लेखाप्रणालीबाट वित्तीय विवरण तयार गर्नुपर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए। ‘यसबाट अब राष्ट्रियस्तरका लघुवित्तलाई जोखिम मूल्यांकन तथा विश्लेषणमा सहज हुनेछ’, ती अधिकारीले भने।

एनएफआरएस लेखाप्रणाली अपनाउने संस्थाको खुद नाफा र नेटवर्थ वास्तविक आउने गर्छ। यस्तो वित्तीय प्रतिवेदन सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा र राष्ट्रियस्तरका पत्रिकामा सर्वसाधारणले बुझ्ने गरी आर्थिक वर्ष समाप्त भएको नौ महिनाभित्र अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने छ। 

वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै यी वित्तीय विवरणहरुसँग सम्बन्धि सबै अनुसूची तथा विवरणहरु वार्षिक प्रतिवेदन पुस्तिकमा समेत प्रकाशित गर्नुपर्नेछ। 

हाल नेपालमा राष्ट्रियस्तरका लघुवित्तहरुमा निर्धन उत्थान, आरएमडीसी, डिप्रोक्स, छिमेक, स्वावलम्बन र साना किसान विकास लघुवित्त वित्तीय संस्था छन्। किसान लघुवित्तका डेपुटी सीईओ बखतबहादुर बटालका अनुसार यो लेखा प्रणाली राम्रो हो। ‘तर, अहिले नै तुरुन्तै एनएफआरएसमा जाँदा लघुवित्तहरुलाई छुट्टै कर्मचारी आवश्यक पर्ने हुन सक्छ’, उनले भने, ‘एनएफआरएस लागू गर्ने अन्य संस्थाले तयारी गर्ने समय पाएका थिए। राष्ट्रियस्तरका लघुवित्तले पनि तयारी गर्ने सयम पाउँछन् होला।’

‘यो लेखा प्रणालीले संस्थालाई घाटा हुँदैन र वितरणयोग्य नाफामा पनि असर पर्छजस्तो मलाइ लाग्दैन’, उनले भने। 

सेयर बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि लघुवित्तले एनएफआरएस प्रणाली अपनाउँदैमा संस्थाको वितरणयोग्य नाफामा कुनै असर नपर्ने बताउँछन्। ‘लेखाप्रणालीमा केही परिवर्तन हुँदैमा संस्थाले दिनेसक्ने लाभांशमा तात्विक अन्तर हुन्न’, उनले भने।