काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय र मूल्यवान क्रिप्टोकरेन्सी बिटक्वाइनले १३ वर्ष पूरा गरेको छ। 

यो १३ वर्षमा बिटक्वाइनले लगानीकर्ताहरुलाई अथाहा प्रतिफल दिएको छ। १३ वर्षअघि ०.०००८ डलर (करिब ९ पैसा) मूल्य रहेको बिटक्वाइनको अहिले बढेर ४६ हजार ३११ डलर (करिब ५५. लाख रुपैयाँ) मा कारोबार भइरहेको छ। 

यो लोकप्रिय डिजिटल करेन्सी सन् २००८ को अक्टोबर २८ मा जारी भएको थियो। तर यसको सुरुआत २००९ जनवरी ३ बाट भएको थियो। 

बिटक्वाइनको सुरुआत सातोशी नाकामोतोले गरेका थिए। जसको पहिचान अहिलेसम्म जाहेर गरिएको छैन। सातोशी नाकामोतोको वालेटमा अहिले करिब ७३ बिलियन डलरको बिटक्वाइन टोकन मौज्दात रहेको छ। सन् २०११ पछि नाकामोतोको वालेट बढ्दै गएको छ। नाकामोतोले अहिलेसम्म यसबाट खर्च गरेका छैनन्। 

अहिले कारोबार भइरहेको समयमा बिटक्वाइनको मूल्य ५३६ डलरले उकालो लागिसकेको छ। अहिले बिटक्वाइनको भाउ ४६ हजार ३११ डलरमा कारोबार भइरहेको छ। गत वर्ष बिटक्वाइनको भाउ ६६ हजार डलरभन्दा माथि पुगेको थियो। – एजेन्सी