काठमाण्डौ । रुस र युक्रेनबीच बढ्दो तनावका बीच विश्व सेयर बजारमा भारी गिरावट आएको छ। जसका कारण कोरोना महामारीका कारण सिर्जित मन्दीबाट उकालो लागेका अर्थतन्त्रलाई फेरि एकपटक धक्का लाग्न सक्ने देखिएको छ। 

रुस–युक्रेन तनावकै कारण एस एन्ड पी ५००मा १.५ प्रतिशतको गिरावट आएको छ। डाउ जोन्स पनि १.३ प्रतिशत र नास्डक १०० ई–मिनी फ्युचर्स २.४ प्रतिशतले ओरालो लागेको छ।

यस्तै युरोपेली सेयर बजारमा गिरावट आइरहेको छ। जर्मनीको ड्याक्स इन्डेक्स र फ्रान्सको सीएके–४० मा २ प्रतिशतको गिरावट आएको छ। 

उता जापानको निक्की २२५ परिसूचक २ प्रतिशतले घटेको छ । अर्कोतर्फ दक्षिण कोरियाको कोस्पी पनि बजार खुलेसँगै १.४ प्रतिशतले घटेको छ।
पूर्वी युरोपमा बढ्दो तनावका कारण तेलको भाउ बढ्ने र आपूर्ति शृंखलामा पनि नराम्रो असर पर्ने देखिएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएका छन्। स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ। उनीहरु सन् २०१४ देखि युक्रेनी सेनासँग लड्दै आएका छन्।

कोरोनाको प्रकोपबाट शिथिल बनेको विश्व अर्थतन्त्र भर्खरै चलायमन बन्न लागेकै बेला फेरि नयाँ संकट खडा भएको हो। जसका कारण सेयर बजारका लगानीकर्ताहरु तनावमा परेका छन्। –एजेन्सी