काठमाण्डौ । सिद्धार्थ बैंकले आज(जेठ २५ गते)देखि आफ्ना सेयरधनीका लागि १० बराबर ३ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रदको बिक्री खुलाएको हो । 

हकप्रदका लागि इच्छुक सेयरधनीले आगामी असार २८ गतेसम्म तोकिएका केन्द्रमा गएर आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकको हकप्रदका लागि बुक क्लोजको मिति जेठ १६ लाई तोकिएको थियो । यसको अर्थ जेठ १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाले मात्र हकप्रद भर्न पाउने छन् । जेठ १५ गते सार्वजनिक विदा थियो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटलको मुख्य कार्यालय, नक्सालस्थित सिद्धार्थ बैंकको मुख्य कार्यालय र देशभरका सिद्धार्थ बैंकका शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन दिनसक्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९५ करोड ७० लाख खूद नाफा आर्जन गरेको थियो । ३० प्रतिशत हकप्रदको बिक्रीपछि बैंकको चुक्तापूँजी ६ अर्ब ८२ करोडको उचाईमा पुुग्नेछ।