काठमाण्डौ । जेठ २५(आज)देखि पूर्वघोषित ३० प्रतिशत हकप्रदको बिक्री खुलाएको सिद्धार्थ बैंकले पुनः १० प्रतिशत हकप्रदकोे प्रस्ताव गरेको छ । 

नेपाल राष्टबैंकको व्यवस्था अनुसार चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यतामा रहेको यो बैंकले थप १० प्रतिशत हकप्रद जारीको प्रस्ताव अगाडि बढाएको हो । 

बैंकको बिहीबार बसेको २७१ औं बैठकले आजदेखि बिक्री खुल्ला गरिएको ३० प्रतिशत हकप्रदको पूँजीकरणपछि कायम हुने चुक्तापूँजीको १० प्रतिशत थप हकप्रद निश्कासन गर्ने निर्णय गरेको हो । 

नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार बैंकको बोर्ड बैठकले आगामी असार १८ गते विशेष साधारणसभा समेत आह्वान गर्ने निर्णय गरेको छ । विशेष साधारणसभाबाट थप १० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्नुको साथै नेपाल राष्टबैंकको निर्देशन अनुसार संचालक समितिको संख्या घटाउनेछ । 

बिक्री खुल्ला भएको ३० प्रतिशत हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूूँजी ६ अर्ब ८२ करोडको उचाईमा पुुग्नेछ । त्यसपछि जारी हुने १० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ७ अर्ब ५१ करोड पुुग्नेछ । ८ अर्ब पुुग्न अझै ४९ करोड अपुुग हुन्छ । यो बैंकले तेश्रो त्रैमाससम्म ९५ करोड ७० लाख खूद नाफा आर्जन गरेको छ । यसरी अपुुग रकम बोनसबाट कभर गर्ने बैंकको रणनीति देखिन्छ ।