काठमाण्डौ । माइक्रोफाइनान्स समूहमा सेयर बजारको ब्लुचिप कम्पनी फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आकर्षक प्रगति गरेको छ । यो कम्पनीले खूद मुनाफामा ६५.६५ प्रतिशतको छलाङ हानेको छ भने अन्य सूचकमा पनि आकर्षक प्रगति गरेको छ ।
अघिल्लो वर्षको यही अवधिसम्म यो कम्पनीको खूद नाफामा ५३ करोड ३ लाख रुपैयाँमा सीमित रहेकोमा यो वर्ष बढेर ८४ करोड ५३ लाखको उचाईमा पुगेको हो । कम्पनीले १४ करोड बढी राइटब्याक गर्दा खूद नाफामा उछालको अवस्था देखिएको हो ।
फरवार्डको सञ्चालन मुनाफातर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८० करोड २८ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ ।
नियमित व्यवसाय वृद्धिमा समेत व्यवस्थापनले ध्यान दिंदा फरवार्डको खूद ब्याज आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोडको उचाईमा पुगेको छ ।
खूद मुनाफामा आएको उछालको सकारात्मक प्रभाव कम्पनीको प्रतिसेयर आम्दानीमा समेत देखिएको छ । फलस्वरुप अघिल्लो वर्ष ६०.४३ रुपैयाँमा सीमित इपीएसमा उछाल आई १००.११ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा फरवार्डले १० अर्ब ८ करोड सापटी लिई तथा ७ अर्ब ९५ करोड बढी निक्षेप संकलन गरी १९ अर्ब ८१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ८ अर्ब ६३ करोड सापटी लिई तथा ६ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको थियो ।
फरवार्डले अघिल्लो वर्ष १ अर्ब ७ करोडमा सीमित रिजर्बको आकार ७२.३१ प्रतिशतले बढाएर यो वर्ष १ अर्ब ८४ करोड पुर्याएको छ ।
राइटब्याकमा आक्रामक बनेका कारण फरवार्डले ३.६७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.८३ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ ।
समीक्षा अवधिमा फरवार्डको कस्ट अफ फण्ड ९.६५ प्रतिशत, पीई रेसियो २३.८२ गुणा, प्रतिसेयर नेटवर्थ ३१८.८३ रुपैयाँ कायम भएको छ ।
यो संस्थाले ४० वटा जिल्लामा १५९ शाखामार्फत २ लाख ८७ हजार ग्राहकमाझ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19