काठमाण्डौ । अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलोपटक स्थायी आप्रवासनसम्बन्धी संख्याको सीमा बढाएको छ।
चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५हजारले बढाउँदै कुल १ लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।
कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ।
अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ। अस्ट्रेलियामा नेपालीको संख्या पनि उल्लेख्य छ।
अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि ४ लाख ८० हजार पद रिक्त छन्।
अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाता कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न संघर्ष गरिरहेका छन्। पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योग बढी प्रभावित भएका छन्।
क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थल अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो। ‘हामी जहिले पनि अस्ट्रेलियाली नागरिकले पहिले काम पाऊन् भन्नेमा केन्द्रित हुन्छौँ तर कोभिडको प्रभाव यति गम्भीर छ कि अन्य सबै सम्भावना सकिँदा पनि हामीलाई अझै हजारौँ कामदारको अभाव हुनेछ, कम्तीमा सानो अवधिका लागि भए पनि’, गृहमन्त्री क्लेर ओनिलले भनिन्।
सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो। त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो। तर व्यापारी, युनियनमा संलग्न व्यक्ति तथा प्रतिपक्षी दलका नेताहरुले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए।
अहिले अस्ट्रेलिया प्रतिभाको खोजी गर्ने लडाइँमा भएको देखिने प्रणालीबाट बाहिर निस्किरहेको छ। अहिले स्वास्थ्यकर्मीका लागि संख्या ४ हजार ७०० र अन्य क्षेत्रका लागि ९ हजार बढाइएको छ।
त्यस्तै सरकारले लामो समयदेखि बाँकी रहेको भिसा आवेदनको अन्तिम निर्णय दिने काममा सहयोग गर्ने कर्मचारीका लागि थप ३.६० करोड डलर दिने वाचा गरेको छ। महामारीको समयमा बसाइसराइ कम भएको भए पनि सन् २०१६ यता १० लाखभन्दा बढीबब मानिस अस्ट्रेलियामा बस्न गएका छन्। –बीबीसीबाट
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19