काठमाण्डौ । नेपालको सेयर बजारमा चलखेल हुनु सामान्यजस्तै बनिसकेको छ। बजारमा चलखेल भइरहँदा पनि नियामक निकायहरुबाट हालसम्म एउटा पनि कारबाही भएको घटना बाहिर आउन सकेको छैन। 

पछिल्लो समय घट्दो बजारमा सेयरमूल्यमा हुने चलखेलका घटना बढ्दै गएका छन्। यस्ता चलखेलबाट बजारका साना र सोझा लगानीकर्ताहरु फस्दै आएका छन्। 

हिजो र आजको कारोबारमा मैलुङखोला जलविद्युत कम्पनीको सेयरमा डरलाग्दो चलखेल भएको छ। यो कम्पनीको मूल्य घटाउन र बढाउन ब्रोकरहरुबीच नै भिडन्त भएको देखिन्छ।  

अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९), नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) र सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)ले खुलेआम मैलुङखोलाको सेयरमा चलखेल गरेको देखिएको हो। हिजो र आजको कारोबारमा यो कम्पनीमा ब्रोकर नं. ५८ र ५२ ले कारोबारको अन्तिम समयमा २ प्रतिशतको तल–माथि गर्ने नियम उल्लंघन गर्दै ५२३ रुपैयाँमा कारोबार भएको सेयरलाई एकैपटक २० कित्ताले ४७५ रुपैयाँमा झारेको लगानीकर्ता कौशल अग्रवालले आरोप लगाए । ‘उता ब्रोकर नं. ४९ ले भने एकैपटक ५२३ रुपैयाँमा मार्केट अर्डरमा कारोबार गरेर चलखेल गरेको छ’, उनले भने, ‘यो कम्पनीमा यी तीन ब्रोकरबीच मूल्य तल–माथि गर्न भिडन्त नै भएको फ्लोरसिटमा प्रस्ट देखिन्छ।’

अर्का लगानीकर्ता रमेश पाठकले पनि ५८ नं. ब्रोकर एनटीसीपछि फेरि मैलुङखोलामा चलखेल गर्न लागिपरेको आरोप लगाए। ‘ब्रोकरहरुले अहिलेको टीएमएसमा आफ्नो मनलाग्दी गरेर सेयरमूल्य आफूले चाहेअनुुसार तल–माथि गर्ने गरेका छन्’, उनले भने, ‘उनीहरुले बेच्नुपरेमा एकैपटक उच्च मूल्यमा बढाइदिने गर्छन्।’

खासगरी कारोबारको अन्तिम मिनेटमा ब्रोकरहरुले सेयरमूल्यमा आफूअनुकूल तलमाथि गर्ने गरेको पाठकको आरोप छ। ‘यसरी खुलमखुला चलखेल भइरहँदा नियामक निकायहरु मस्त निद्रामा छन्’, उनले भने। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रवक्ता रुपेश केसीले यस विषयमा आफूहरुले अध्ययन गरेरमात्रै प्रतिक्रिया दिने जानकारी दिए।