– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने तयारी गरेको छ। 

राष्ट्र बैंकले गत भदौ २२ गते सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, सुपर लघुवित्तले ३५ दिन कट्दा पनि माग गरिएको स्पष्टीकरण पेस नगरेपछि केन्द्रीय बैंकले टेकओभर गर्ने तयारी गरेको हो।

माग गरिएको स्पष्टीकरणप्रति संस्थाले कुनै वास्ता नगरेको र हालसम्म पनि नबुुझाएको राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमनकुमार अधिकारी बताउँछन्। त्यसपछिको प्रक्रियामा संस्थालाई केन्द्रीय बैंकले नै टेकओभर गर्ने उनको भनाइ छ। ‘स्पष्टीकरण माग गरेको ३५ दिन सकिँदा पनि केही प्रतिक्रिया आएको छैन। स्पष्टीकरण नै नबुुझाईसकेपछि सामान्यतया राष्ट्र बैंकले नै नियन्त्रणमा लिन्छ’, उनले भने।

यसको औपचारिक निर्णय भने केही दिनमा हुने अधिकारीले जानकारी दिए। हाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्मेलनमा भाग लिन अमेरिका रहेकाले बोर्ड बैंठक बसेको छैन। ‘गभर्नर अधिकारी कार्यालय फकिएलगतै लघुवित्त संस्था सुपरिवेक्षण विभागले सुपर लघुविलाई टेकओभर गर्ने प्रस्ताव बोर्डमा लैजानेछ’, उनले भने। 

गभर्नर अधिकारी भोलि कात्तिक २ गते नेपाल फकिँदैछन्। त्यसपछि उक्त निर्णय हुनेछ। 

सुुपर लघुुवित्तको व्यवस्थापनमा हस्तक्षेप गरेपछि केही समयका लागि संस्था सञ्चालनका लागि राष्ट्र बैंकले टोली पठाउनेछ। त्यसपश्चात अर्काे संस्थासँग मर्जर गर्ने तथा अरु कसैले नेतृत्व गर्न चाहेमा हस्तान्तरण गरिने राष्ट्र बैंकले जनाएको छ। त्यसका लागि राष्ट्र बैंकले सूूचना आह्वान गर्नेछ। 

केन्द्रीय बैंकको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट संस्थाका अध्यक्षलगायतले नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाइएको थियो। जहाँ २३ करोडभन्दा बढी रकम हिनामिना भएको पाइएको थियो। संस्थाले नक्कली ऋणी खडामात्रै नभएर निक्षेप पनि नक्कली नै उठाएको पाइएको राष्ट्र बैंकको भनाइ छ। 

हाल सुपर लघुवित्तका कामु सीईओ बुद्धिराम चौधारी, तुलसीपुर शाखाका प्रमुख सञ्जीव चौधरी, बिजौरी शाखाका प्रमुख यशोदा थापा र कुसुम चौधरी प्रहरी नियन्त्रणमा छन्। यो संस्था कम्पनी ऐन २०६३ बमोजिम २०७५ चैत २४ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएकामा २०७६ पुुसमा फिंगोबाट लघुवित्तमा परिणत भएको थियो। जसको नाम पछि सुपर लघुुवित्त थियो। 

सुपर लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ।