काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्। 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसअघि जारी भएको ट्रेजरी बिलमा राष्ट्र बैंकले हस्तक्षेप गरे पनि आज जारी भएको ट्रेजरी भने बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेको जनाएको हो।

केन्द्रीय बैंकले हिजो सोमबार १३ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरी आज जारी गरेको छ। जसमा २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी भएको छ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्युुनतम ८.५२११ प्रतिशत र अधिकतममा १२.०४०१ प्रतिशत ब्याजदर (डिस्काउन्ट रेट) माग गरेका छन्। विभागले बैंक तथा वित्तीय संस्थाले औसतमा न्यूनतम ९.२४५९ प्रतिशत र अधिकतममा ११.७६८४ प्रतिशत डिस्काउन्ट रेटमा ट्रेजरी बिल स्वीकार गरेको जानकारी दिएको छ।

विभागका अनुुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट क्रमशः ९.२४५९ प्रतिशत, १०.४४४२ प्रतिशत, ११.७६८४ र ११.६१९१ प्रतिशत कायम भएको छ।