काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनसँगै पुँजीबजार र अर्थतन्त्रमा देखिएको आशालाई विश्वासमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि संयुक्त कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुप्रति पुँजीबजार र अन्य क्षेत्रका लगानीकर्ताले देखाएको विश्वासलाई निराशामा परिणत नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण सरकारको प्राथमिकतामा पर्नेछ’, उनले भने, ‘अर्थतन्त्रलाई वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयनबाट माथि उकासिनेछ।’

सरकार गठनलगत्तै अर्थतन्त्र सुधारलाई आफूहरुले प्राथमिकतामा राखेको र अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर र आफू सँगै बसेर निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि केही सहजीकरण गरेको स्मरण गर्दै प्रचण्डले यस्तो प्रयास र अभ्यास निरन्तर रहने पनि बताए। 

‘आजको दिनमा पनि हामी आर्थिक विषयमा केन्द्रित रही निरन्तर संवाद गरिरहेका छौँ’, प्रचण्डले भने, ‘अर्थतन्त्रमा तत्काल सुधार र नतिजामुखी काम गर्नुपर्नेछ।’

प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्था आर्थिक क्षेत्रका संवाहक रहेका उल्लेख गर्दै बैंक सबल भएमात्र अर्थतन्त्र सबल हुने बताए। 

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा २१ वटा संस्था गाभेर ठूलो बैंक बनाइएकोमा यसलाई असाधारण काम भन्दै प्रचण्डले बैंकहरुको मर्जरले ठूला परियोजनामा स्रोत जुटाउन सजिलो हुने तथा वित्तीय क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटेर जाने विश्वास व्यक्त गरे। तर, मर्जरपछि नागरिकको बैंकिङ पहुँच कम हुन नहुने उनको धारणा थियो। 

एक फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक यात्रा र चन्द्र ढकालको व्यावसायिक यात्रा समान रहेको उल्लेख गरे। ‘चन्द्र ढकालजी पनि बागलुङको एक गरिब परिवारमा जन्मिएको व्यक्ति छोटो समयमै व्यावसायिक सफलताको यो उचाइमा पुग्नुभयो’, उनले भने, ‘मेरो राजनीतिक यात्रा पनि उहाँको जस्तै छ। गरिब परिवारमा जन्मिएको छोरो हुँ म, आज राष्ट्र नेतृत्व गरिरहेको छु। अब चन्द्र ढकालजी र म मिलेर आर्थिक उन्नयनका लागि काम गर्नुपर्नेछ।’