काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा मुद्रास्फीतिमा सामान्य सुधार भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशतमा झरेको छ। गत कात्तिक मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको मंसिर महिनामा भने यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा थप सुधार भएको देखिएको छ। मंसिरमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर रु. ४ खर्ब ८० अर्ब ५० करोड भएको छ। गत कात्तिकमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको थियो। अघिल्लो वर्षको मंसिर मा भने विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। 

मंसिरमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा चालु खाता रु. ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ।  

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ। 

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई रु.१५३ अर्ब ३४ करोड कायम भएको छ। २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७९–८० को ५ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

कस्तो वस्तु आयात–निर्यातको अवस्था ?

आर्थिक वर्ष २०७९–८० को ५ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रु. ६६४ अर्ब ७५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०७९–८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई रु. ६७ अर्ब ३० करोड भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो।