काठमाण्डौ । धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

मुक्तिनाथ विकास बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै २ महिनाअघि बोर्डमा आवेदन दिएको हो । आवेदन स्वीकृत भएसँगै अब यो बैंकले १ सय रुपैयाँ अंकित दरका ६१ लख ७० हजार ८ सय ६५.०४ कित्ता हकप्रदको बिक्री खुल्ला गर्नेछ । गत मंसिर ४ गते सम्पन्न बैंकको १० औं वार्षिक साधारणसभाबाट पूँजीवृद्धिका लागि हकप्रद निश्कासनको प्रस्ताव पारित भएको थियो । 

एनआइबिएल क्यापिटल लिमीटेडले मुक्तिनाथको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापुँजी २ अर्ब १५ करोडको उचाईमा पुुग्नेछ । राष्टिय स्तरको विकास बैंकलाई आवश्यक २ अर्ब ५० करोड पूँजीमा अपुुग रकम यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस वितरण गरेर पुर्याउने देखिन्छ ।