काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा महँगी बढेको छ। अन्य क्षेत्रको तुलनामा काठमाण्डौमा महँगी ह्वात्तै बढेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.८८ प्रतिशत पुगेको छ। अघिल्लो महिना पुसमा ७.२६ प्रतिशतमा झरेको थियो। अघिल्लो वर्षको माघ महिनामा भने यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेनट तथा होटल उपसमूहको वार्षिक व्न्दिुगत मूल्य सूचकांक् १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ।

समीक्षा महिनामा काठमाण्डौ उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ। अघिल्लो माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

यो हिसाबले काठमाण्डौ महँगी ३ प्रतिशतले बढेको छ।