काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ। 

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा रु.१४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ।

अमेरिकी डलरमा विनिमय सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ। चालु आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यो ९ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई रु.१ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु. १२ खर्ब १ अर्ब ५१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्योन्स) २४.२ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ।

चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ।