काठमाण्डौ । भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीको नाममा ठूलो ठगी धन्दाको फर्दाफास भएको छ। 

तन्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका करिब ८ हजार व्यक्तिसँग १०० करोड रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको हो। यो ठगी गर्ने ५ जना ठगी गर्ने गिरोह फरार भएका छन् र उनीहरुको कार्यालय ५ महिनादेखि बन्द छ।

पीडित अमानुल्लाहका अनुसार उनका एक साथी २ वर्षअघि घर आएका थिए। जसले क्रिप्टोकरेन्सीमा १ लाख रुपैयाँ लगानी गरेमा मासिक १५ हजार रुपैयाँ दिने वाचा गरेका थिए।

अमानुल्लाहले साथीको सल्लाहमा २ लाख रुपैयाँ लगानी गरे र आफूले भनेजस्तै पहिलो महिनामा ३० हजार रुपैयाँ पाए। यो ३० हजार रुपैयाँ उनलाई क्रिप्टोकरेन्सीमार्फत मात्र दिइएको हो। यो क्रम १० महिनासम्म चलेको र विस्तारै मानिसहरु जोडिन थालेको उनले बताए।

यसबाहेक अमानुल्लाहले नयाँ व्यक्ति थप्न प्रोत्साहन रकम पनि पाएका छन्। उनले सयौँ मानिसलाई आफूसँग जोड्ने काम गरे।

यस घोटालाको सिकार ९८ प्रतिशत मुस्लिम महिला छन्। जसले आफ्नो बचत क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका थिए।

यो घटनामा धेरै जिल्लाका करिब ७–८ हजार मानिससँग १०० करोड रुपैयाँ ठगी भएको छ।

तन्जाभुर जिल्लाका पुलिस अधीक्षक आशीष रावतले भने, ‘क्रिप्टोकरेन्सीमा लगानी गर्ने पीडितले दायर गरेको गुनासोपछि मैले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विस्तृत अनुसन्धान गर्न आदेश दिएको छु।’ –एजेन्सी