काठमाण्डौ । अब उद्योगहरुले एकपटकमा अधिकतम ६० हजार अमेरिकी डलरबराबरको कच्चापदार्थ (मालसामान) आयात गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै उद्योगहरुले अधिकतममा ६० हजार अमेरिकी डलरबराबरको मालसामान आयात गर्न पाउने सुविधा बढाएको हो। यसअघि उद्योगहरुले एकपटकमा अधिकतममा ५० हजार अमेरिकी डलरबराबरको मालसामान आयात गर्न पाउने सुविधा थियो। 

यो सुविधा तयारी पोसाक तथा नेपाल एकीकृत व्यापार रणनीति, २०८०मा उल्लिखित ‘निर्यात सम्भावना देखिएका वस्तु’अन्तर्गतको ‘वर्तमान वस्तुहरु’ उत्पादन गर्ने उद्योगहरुले आफ्नो उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ ब्याक टु ब्याक प्रतीतपत्रका माध्यमबाट पनि आयात गर्ने हकमा लागू हुनेछ। 

संशोधित व्यवस्थाअनुसार उद्योगहरुले एकपटकमा अधिकतम अमेरिकी डलर ६० हजार वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको मालसामानमात्र आयात गर्न पाउनेछन्। यो व्यवस्थाबमोजिम एकपटक सटही सुविधाप्राप्त गरेपश्चात पुनः सोही निर्यातकर्ताबाट अर्को सीपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न अघिल्लोपटक सटही सुविधा प्राप्त गरी आयात भएको ७ दिन व्यतीत भएपश्चात मात्र पुनः सटही सुविधा प्राप्त हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यसैगरी पुनः सटही सुविधा लिन आयात भएको प्रमाणका रुपमा भन्सार कार्यालयले प्रमाणित गरेको वि.वि.नि.फाराम, भन्सार प्रज्ञापनपत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेस गर्नुपर्नेछ। 

अघिल्लोपटक सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताको हकमा माथि उल्लिखित कागजातका अतिरिक्त ७ दिन व्यतीत भएकोसम्बन्धी स्वःघोषणासमेत सम्बन्धित आयाकर्ताले पेस गर्नुपर्नेछ। 

भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँमा ३ करोडसम्म हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।