काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। 

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीहरुले करिब ५६ अर्बको दाबी भुक्तानी गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब ५५ करोड क्लेम पेमेन्ट गरेका थिए। यो हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट भएको दाबी भुक्तानी ८.४५ प्रतिशतले वृद्धि भएको छ। 

पाँच जीवन बीमा कम्पनीबाहेकका सबै कम्पनीको दाबी भुक्तानी बढेको रिपोर्टले देखाएको छ। यसअर्थ पनि जीवन बीमा कम्पनीहरु बीमितमैत्री बन्न सफल भएका छन्। 

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीको क्षमता बलियो बनाउन चुक्तापुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो। सोमध्ये नेपाल, नेशनल र हिमालयन लाइफले मात्रै तोकिएको पुँजी पुर्याएका छन्। तर, पुँजी बृद्धिका लागि भने सबै कम्पनीबाट आ–आफ्नै तवरबाट पहल भइरहेको छ। 

९ जीवन बीमा कम्पनीको दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको तु्लनामा गत आर्थिक वर्षमा वृद्धि भएको छ। बीमा प्राधिकरणले समेत जीवन बीमा कम्पनीहरु बीमितमैत्री हुनुपर्नेमा जोड दिँदै आइरहेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ समेत जारी गरेको छ। 

यसका साथै बीमा ऐन, २०७९ को दफा १२३ मा बीमा दाबी फर्छ्यौट गर्नुपर्ने व्यवस्थाबमोजिम बीमा कम्पनीले बीमालेखमा उल्लेख भएबमोजिम बीमा दाबी पेस हुन आएमा त्यस्तो दाबीको क्षति मूल्यांकन गराउनुपर्ने भए सो गराई र क्षति मूल्यांकन गराउनु नपर्ने भएमा त्यसरी पेस भएको मितिबाट तोकिएको अवधिभित्र दाबी भुक्तानी गर्नुपर्ने भनेर उल्लेख छ। 

जीवन बीमा कम्पनीहरुमा बीमिति तथा सेवाग्राहीको संख्या थपिँदै जाँदा दाबी भुक्तानी पनि उत्तिकै पर्ने सम्भावना बढ्दै जान्छ। बीमा गर्नुअघि बीमितको सम्पूर्ण जानकारी तथा स्वास्थ्य परीक्षण गर्नु पनि आवश्यक मानिन्छ। तर, पछिल्लो समय जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई कागजमा मात्रै सीमित राखेका कारण बीमा दाबी पर्ने सम्भावना बढ्दै गइरहेको छ। 

जीवन बीमा कम्पनीहरु बीमितमैत्री बन्नुपर्छ तर बीमा गर्दा बीमितको स्वास्थ्य अवस्था तथा क्षति मूल्यांकनका बारेमा पनि सचेत हुन जरुरी छ। केही कम्पनीहरुले बीमितलाई समयमै भुक्तानी नदिएको उदाहरण पनि छन्। बीमा प्राधिकरणमा विगत ५ वर्षदेखिका दाबी भुक्तानी विषयका उजुरी रिपोर्टहरुको चाङ छ। 

कम्पनीहरुले समयमै दाबी भुक्तानी नदिँदा बीमितहरुले सीधै बीमा प्राधिकरणमा उजुरी दिन सक्ने बीमा ऐन, २०७९ मा व्यवस्था गरिएको छ। तर, गत आर्थिक वर्षको कम्पनीहरुको वित्तीय रिपोर्टअनुसार भने दाबी भुक्तानी प्रक्रियालाई तीव्र रुपमा अघि बढाइएको देखिन्छ। 

बीमा ऐन, २०७९ को दफा १२८ मै उल्लेख छ, ‘बीमा कम्पनीले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले प्राधिकरणसमक्ष उजुरु गर्न सक्नेछ।’

गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म सबैभन्दा बढी बीमा दाबी भुक्तानी गर्नेमा नेपाल लाइफ रहेको छ। कम्पनीले समीक्षा वर्षमा १५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। 

त्यस्तै एलआईसी नेपालले पनि समीक्षा वर्षमा ८ अर्ब ९६ करोड भन्दा बढी दाबी भुक्तानी गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा दाबी भुक्तानी वृद्धिदरमा भने सन नेपाल लाइफ र एसियन लाइफ अगाडि रहेका छन्। सन नेपाल लाइफले अघिल्लो आर्थिक वर्षमा ४१ करोड ७९ लाख रुपैयाँमात्रै दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षमा मात्रै ९१ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ। यो कम्पनीले दाबी भुक्तानी ११९.३३ प्रतिशतले बढाएको छ। 

सन नेपाल लाइफले विशेषगरी वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसीबाट व्यवसाय भित्र्याइरहेको छ। कम्पनीले सो पोलिसीमा समावेश भएको घातक रोग तथा दुर्घटनाको क्षतिसमेतको भुक्तानी दिएका कारण दाबी भुक्तानी बढेको देखिएको हो। कम्पनीले बीमा ऐन, २०७९ को पालना पूर्ण पालना गर्दै बीमितमैत्री बनेको देखिन्छ। 

एसियन लाइफले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दाबी भुक्तानी ८०.७६ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको कम्पनीले गत वर्षमा दोब्बर अर्थात् २ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।