काठमाण्डौ । मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुमा सिजर्नी देखिएको छ। मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुले व्यवसायसँगै नाफासमेत वृद्धि गर्न सफल भएका छन्। 

यता नेको इन्सुरेन्सले भने मर्ज भएका कम्पनीहरुलाई टक्कर दिँदै निर्जीवन बीमा व्यवसाय वृद्धि गर्र्दै आफ्ना कर्मचारीलाई मख्ख बनाउन सफल भएको छ। कम्पनीले बर्सेनि दिँदै आइरहने कर्मचारी बोनस व्यवस्था निरन्तर बढ्दै गइरहेको वित्तीय रिपोर्टले देखाएको छ। 

कम्पनीको व्यवसायसँगै शाखा कार्यालय संख्या तथा कर्मचारीको संख्यासमेत प्रत्येक वर्ष बढ्दै गइरहेको छ। यसर्थमा पनि कम्पनीको कर्मचारी बोनस वृद्धि हुन पुगेको हो। बीमा कम्पनीमा कार्यरत कर्मचारीले तलबबाहेक कम्पनीले वर्षभरि आर्जन गरेको मुनाफाका आधारमा बोनस पाउने सुविधा छ। 

मुनाफाकै आधारमा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि १० प्रतिशत रकम बोनस व्यवस्थाका आधारमा छुट्याउनुपर्ने प्रावधान छ। बोनस ऐन, २०३० मा कुनै पनि संस्था वा कम्पनीले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख रहेको छ। 

नेकोले विगतका वर्षदेखि मुनाफा वृद्धिसँगै आफ्ना कर्मचारीलाई बाँड्दै आइरहेको बोनससमेत बढाउँदै गएको छ। यस आधारमा कम्पनीले आफ्ना कर्मचारीलाई उत्कृष्ट सेवा सुविधासँगै बोनसको पनि राम्रो व्यवस्था गरेको देखिन्छ। 

कम्पनीले आर्थिक वर्ष २०७३–७४ देखि कर्मचारीलाई बोनस वितरण गर्दै आइरहेको छ। सो आर्थिक वर्षमा कम्पनीले आफ्ना कर्मचारीलाई ३ करोड २ लाख रुपैयाँ बोनस छुट्याएको थियो। साथै सोही आर्थिक वर्षमा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यसैगरी आर्थिक वर्ष २०७४–७५ मा कम्पनीले २९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गर्दा कर्मचारी बोनसका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७५–७६ मा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दा कर्मचारी बोनसका लागि ४ करोड ९० लाख रुपैयाँ छुट्याएको थियो। 

त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा ४४ करोड ८५ लाख रुपैयाँ नाफा कमाउँदा कर्मचारीका लागि ६ करोड ४० लाख रुपैयाँ बोनस, आर्थिक वर्ष २०७७–७८ मा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा कर्मचारीका लागि ७ करोड ७२ लाख रुपैयाँ बोनस र आर्थिक वर्ष २०७८–७९ मा ५५ करोड १ लाख रुपैयाँ नाफा कमाउँदा कर्मचारीको लागि ८ करोड रुपैयाँ बोनस छुट्याएको थियो।

गत आर्थिक वर्ष २०७९–८० मा मात्रै कम्पनीले ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो आर्थिक वर्षमा कम्पनीले कर्मचारीका लागि ९ करोड ९ लाख रुपैयाँ बोनस छुट्याएको छ। 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेको इन्सुरेन्समा कुल ५०१ जना कर्मचारी रहेका छन्। तर, बोनस ऐनअनुसार कम्पनीमा कार्यरत कर्मचारीको पद हेरेर बोनस वितरण गरिने प्रावधान छ। 

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो भने ८७ करोड १४ लाख ८९ हजार रुपैयाँबराबरको दाबी भुक्तानी दिएको थियो।