काठमाण्डौ । क्यानडा र भारतबीच बढ्दो तनावले कारोबार जगतमा चिन्ता बढेको छ। 

ठूला व्यापार साझेदारी भएका देशहरुबीचको कूटनीतिकस्तरमा चलिरहेको विवादले क्यानडामा सञ्चालित भारतीय कम्पनीहरुका लागि समस्या सिर्जना गर्न सक्छ। ती कम्पनीहरुले त्यहाँ गरेको ठूलो लगानीमा संकट पर्न सक्छ। 

यदि द्वन्द्व चर्किने हो भने क्यानडाको अर्थतन्त्रमा पनि व्यापक असर पर्न सक्छ। किनकि त्यहाँ रहेका भारतीय कम्पनीहरुमा हजारौँ मानिस कार्यरत छन्।

यस वर्षको मेमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले ‘फ्रोम इन्डिया टु क्यानडाः इकोनोमिक इम्प्याक्ट एन्ड इन्गेजमेन्ट’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको थियो। यो प्रतिवेदन भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल टोरन्टो भ्रमणमा रहेका बेला सार्वजनिक गरिएको थियो। प्रतिवेदनमा भारत श्रीलंका, बंगलादेश, नेपाल र खाडी देशका लागिमात्र नभई क्यानडाजस्ता देशका लागि पनि कति महत्वपूर्ण छ भन्ने तथ्यांकसहित प्रकाश पारिएको थियो। क्यानडामा भारतीय लगानी बढेको प्रतिवेदनमा उल्लेख छ। यसका साथै प्रतिवेदनले क्यानडामा भारतीय उद्योगको बढ्दो उपस्थिति र एफडीआई र रोजगारी सिजर्नामा त्यहाँ उपस्थित भारतीय कम्पनीहरूको महत्वलाई पनि प्रकाश पारेको छ।

उक्त प्रतिवेदनलाई हेर्दा चलिरहेको तनावले व्यापार क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने अनुमान गर्न सकिन्छ। प्रतिवेदनका अनुसार क्यानडामा ३० भारतीय कम्पनीको उपस्थिति छ र ती कम्पनीमा ४० हजार ४४६ करोड रुपैयाँ लगानी रहेको छ। 

क्यानडामा व्यापार गर्ने भारतीय कम्पनीमार्फत १७ हजारभन्दा बढीले रोजगारी पाएका छन्। यी कम्पनीको अनुसन्धान तथा विकास खर्च पनि ७० करोड क्यानेडियन डलर रहेको बताइएको छ। यस प्रतिवेदनमा क्यानडामा भारतीय व्यापार बढिरहेको दाबी गरिएको थियो। जुन दुवै देशका अर्थतन्त्रको हितमा छ। 

अहिले भारत र क्यानडाबीचको तनाव बढ्दै गएपछि त्यहाँ कारोबार गरिरहेका कम्पनीको व्यापारको असर पर्ने सम्भावना पनि बढेको छ। –एजेन्सी