काठमाण्डौ । विभिन्न ठगीको अभियोग लागेका ‘किङ अफ क्रिप्टो’ भनेर चिनिने साम बैंकम्यान–फ्रीडविरुद्ध मुद्दा सुनुवाइ हुन लागेको छ। एक ब्रिटिस लगानीकर्ताले बैंकम्यान–फ्रीडको कम्पनी डुब्दा आफ्नो सम्पत्ति कसरी गुम्यो र आफूसहित विश्वभरि रहेका पीडितको पैसा कसरी फिर्ता हुन सक्छ भन्नेबारे बीबीसीलाई बताएका छन्।

साम बैंकम्यान–फ्रीडको कम्पनी पूरै नडुब्दासम्म सुनील कावुरीलाई बैंकम्यान–फ्रीडले परिस्थिति उल्ट्याउन सक्छन् कि भन्ने आशा थियो। ‘किङ अफ क्रिप्टो’को साम्राज्य कमजोर बन्दै जाँदा अरू मानिस आत्तिएका थिए तर सुनील भने शान्त नै थिए। बैंकहरुसँगको कारोबार र क्रिप्टोमा लगानी गरेका कारण उनी बजारमा हुने उतारचढाव झेल्न अभ्यस्त भइसकेका थिए।

क्रिप्टोका स्वघोषित रक्षक बैंकम्यान–फ्रीडले सबै कुरा राम्रो हुने बताइरहेका थिए। तर त्यसपछि रकम झिक्ने सुविधा रोकिएको ब्यहोरासहितको सन्देश स्क्रीनमा देखा पर्यो।

एफटीएक्स कुनै बेला क्रिप्टोकरेन्सी सटही गर्ने विश्वकै दोस्रो ठूलो कम्पनी थियो। तर त्यो टाट पल्टियो। वर्षौंदेखि उनले तनाव लिएर भए पनि सफलतापूर्वक गर्दै आएको व्यापार डुब्यो। उनले २१ लाख डलर गुमाए। ‘म कम्प्युटरको स्क्रीन रिफ्रेश गर्दै २४ घन्टा बसेँ। एफटीएक्सलाई मेरो पैसा पठाइदिन भन्दै ई–मेल गर्न खोजेँ। मलाई दिक्क लाग्यो। मलाई लाग्यो– हे भगवान् ! सबै सकियो। मैले सबै गुमाएँ’, उनले भने।

यूकेको डार्बिशरमा बस्ने कावुरी त्यतिबेला छोराको उच्च शिक्षा र नयाँ घर किन्नका लागि पैसा जोहो गरिरहेका थिए। तर त्यसको झन्डै एक वर्षपछि अहिले उनीसँग कानुनी संघर्षका लागि कुनै बेला आफूसँग जे जति थियो त्यसको केवल कागज मात्रै छ। 

एफटीएक्स धराशायी बनेपछि सबैभन्दा ठूलो मारमा परेका व्यक्ति सुनील भएको ठानिएको छ। उनी ब्रिटिश नागरिक हुन्। तर, उनीजस्ता पीडितहरु विश्वभरि छन् र उनी आफूजस्ता मानिसलाई पैसा फिर्ता पाउनका लागि लड्न र कानुनी कारबाहीमा आउनका लागि सघाउन आफू ‘एफटीएक्स क्रेडिटर च्याम्पिअन’ अर्थात् अगुवा बनेको बताउँछन्। ‘टर्कीका एक व्यक्तिको बैंक खातामा जम्मा ६०० डलर मात्रै बाँकी रह्यो र कोरियामा त आत्तिएका एक जना बिरामी परेपछि अस्पताल भर्ना भए’, उनी भन्छन्।

सुनीलले अमेरिका, क्यानडा, आर्जेन्टिना, दुबई, टर्की, हङकङ, चीन र सिंगापुरका मानिसलाई सहयोग गरिरहेका छन्। धेरैजनाले केही सय डलरमात्र गुमाएका छन् भने केहीले हजारौँ र एकजनाले उनीले जस्तै लाखौँ डलर गुमाएका छन्।

अर्को साता हुने सुनुवाइमा सबै पीडितको ध्यान जाने छ। अमेरिकी अभियोजनकर्ताहरुले साम बैंकम्यान–फ्रीडलाई ठगी, जालझेल र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सातवटा अभियोग लगाएका छन्।

एफटीएक्स एलामेडा रिसर्च नामक एउटा क्रिप्टो हेज फन्डका संस्थापक ३१ वर्षीय बैंकम्यान–फ्रीडले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनी आफूविरुद्ध लागेका मुद्दा खेप्न हिरासतबाट न्यूयोर्कस्थित अदालतमा उपस्थित हुने छन्। उनको कम्पनीका अन्य कार्यकारीले यसअघि नै दोष स्वीकार गरिसकेका छन्। उनीहरुले कुनै बेला ४० अर्ब डलरको साम्राज्य कसरी डुब्यो भन्ने विषयमा प्रमाण उपलब्ध गराउन ठानिएको छ।

क्रिप्टो कारोबार गर्न चाहने सबैका लागि सहटीको सुविधा दिने एफटीएक्स सुरक्षित रहेको भन्दै उक्त कम्पनीको प्रचारप्रसार गरिएको थियो। 

बिटक्वाइनजस्ता क्रिप्टो कोइन किन्न पैसा तिर्न खोज्ने र आफ्नो सम्पत्ति सुरक्षित राख्न खोज्ने मानिसका लागि एफटीएक्स एउटा अनौपचारिक बैंकजस्तो बनेको थियो। एफटीएक्सका ९० लाख ग्राहक विभिन्न १०० देशमा छरिएका थिए। एफटीएक्स डुबेपछि १० लाखभन्दा बढी प्रयोगकर्ताको खल्ती रित्तियो। उनीहरुले आफ्नो पैसा झिक्न पनि पाएनन्।

बैंकम्यान–फ्रीडविरुद्ध लागेको मुख्य आरोप भनेको उनले हेज फन्डमा रहेको आफ्नो जोखिमयुक्त लगानीलाई बलियो बनाउन ग्राहकहरुको पैसा प्रयोग गरेर उनीहरुलाई ठगे भन्ने हो। उनले विलासी सम्पत्ति जोड्न र राजनीतिक क्रियाकलापमा चन्दा दिन पनि लाखौँ डलर खर्च गरे। ‘मैले पैसा लुटेको छैन र अर्बौँ डलर लुकाएको पनि छैन’, यसअघि बैंकम्यान–फ्रीडले भनेका थिए।

क्वाइनडेस्क नामक न्युजसाइटले एफटीएक्स र एलामेडा रिसर्चको नाजुक वित्तीय अवस्थाबारे एउटा ठूलो अनुसन्धान गरेपछि उनको अधोगति सुरु भयो। त्यसपछि अत्तालिएका ग्राहकहरुले अर्बौँ डलर फिर्ता लिने प्रयास गरे। अन्ततः एफटीएक्स डुब्यो।

द बहामसमा पक्राउ पर्नु केही बेरअघि बैंकम्यान–फ्रीडले बीबीसी र अन्य सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूले गरेको ‘वित्तीय गल्तीहरुका लागि’ माफी मागेका थिए। तर, आफूले जानीजानी कुनै गल्ती नगरेको र ती फौजदारी नभएको कुरामा आश्वस्त पार्ने उनको प्रयास थियो। ‘साम बैंकम्यान–फ्रीडले वास्तवमै धेरै मानिसको जीवन भताभुङ पारिदिएका छन्’, कावुरीले भने।

एफटीएक्सका अन्य लगानीकर्ताहरुजस्तै सुनील पनि एफटीएक्स र बैंकम्यान–फ्रीडलाई उचाइमा पुग्न सघाउने मानिसहरुलाई दोष दिन्छन्। त्यस्ता मानिसमा चर्चित व्यक्तिहरु र सामाजिक सञ्जालका इन्फ्लुअन्सरहरु छन्। उनीहरुले एफटीएक्सलाई सुरक्षित र विश्वसनीय भनेर प्रचार गरेका थिए।

सन् २०२२ मा कम्पनी उचाइमा हुँदा एफटीएक्सले अमेरिकामा सुपर बलको विज्ञापन गरेको थियो। त्यसमा हास्यव्यंग्यकार ल्यारी डेभिडले लगानी गर्न प्रोत्साहन गर्दै नारा लगाएका थिए– ‘मौका नगुमाउनुहोस् ।’

अहिले चलिरहेका धेरै मुद्दामध्ये सुनीलले दुईवटा हालेका हुन्। तीमध्ये एउटा चाहिँ क्रिप्टोको प्रचारप्रसार गर्ने सलेब्रटी र इन्फ्लुअन्सरहरुविरुद्ध छ। एफटीएक्सको वित्तबारे सबै कुरा पत्ता लगान वर्षौं लाग्न सक्ने ठानिएको छ। किनभने सम्भावित सबै स्थानबाट पैसा दाबी गर्ने प्रयासमा वकिलहरु छन्।

गत साता बैंकम्यान–फ्रीडका आमा–बुवाविरुद्ध पनि मुद्दा परेको छ। उनले उनीहरुलाई द बहामसमा विलासी सम्पत्ति र पैसा दिएको भन्दै उनीहरुविरुद्ध अभियोग लगाइएको हो।

स्थापित भेन्चर क्यापिटल फर्महरुले पैसा र क्रिप्टो सटहीलाई प्रवर्धन गरेपछि आफूले एफटीएक्सलाई विश्वास गरेको कावुरी बताउँछन्। ‘सिकोया क्यापिटल’ले एफटीएक्समा २१ करोड ३० लाख डलर लगानी गरेको थियो। उक्त फर्मले त्यो रकम डुबेको बताएको छ। ‘एफटीएक्सलाई ठूला समूहहरुले मान्यता दिएको मैले देखेँ र यसबाट पक्कै वैधानिक सटही हुन्छ भन्ने मलाई लागेको थियो’, उनले भने।

गत सुनिल र उनकी पत्नीको दोस्रो सन्तानको जन्म भएको छ। गुमेको पैसा फिर्ता लिनुपर्ने गरी उनको आवश्यकता अझ बढेको छ। अहिलेका लागि उनले गर्न सक्ने भनेको हेर्ने, कुर्ने र आशा गर्नेमात्र हो।

साम बैंकम्यान–फ्रीडका वकिलहरुले यस विषयमा टिप्पणी गर्न अहिले नसकिने बताएका छन्। –बीबीसीबाट