काठमाण्डौ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ ।

सोमबार रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले जनाएको छ ।

उनले अनुसन्धानले परिर्वतनको कारण र लैंगिक अन्तरको मुख्य स्रोत पनि पत्ता लगाएको एकेडेमीको भनाइ छ । विश्व श्रम बजारमा महिलाहरूको कम प्रतिनिधित्व र थोरै आम्दानीबारे पनि अर्थशास्त्री गोल्डिनले २०० वर्षदेखिको तथ्यांक संकलन गर्दै लैंगिक अन्तर र रोजगारी दरमा आएको परिवर्तनलाई प्रस्तुत गरेकी छिन् ।

अर्थशास्त्रतर्फको नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । 

गत वर्ष बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार दिइएको थियो ।