काठमाण्डौ । गत आर्थिक वर्ष(आर्थिक वर्ष ०७९-८०)को वितरणयोग्य मुनाफाबाट केही वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । 

यो क्रमले निरन्तरता पाइरहँदा राष्ट्रियस्तरका विकास बैंकतर्फ भने खासै चहलपहल देखिन्न । 

कतिपय राष्ट्रिय स्तरका विकास बैंकको नाफा र लाभांश क्षमता वाणिज्य बैंकहरुभन्दा राम्रो छ । तर, तिनीहरुले अडिट सक्ने, राष्ट्रबैंकको नियामकीय व्यवस्थाअनुसारका सबै प्रभिजन गरी प्रारम्भिक स्वीकृतिका लागि वासलात पठाउने काममा ढिलाई गरिरहेका छन् । 

उसो भए कुन विकास बैंकले के तयारी गरिरहेका छन् त ? कसको लाभांश कहिलेसम्म घोषणा होला ?

आवश्यक पूर्व तयारीहरु हेर्दा र राष्ट्रबैंकस्थित स्रोतले दिएको जानकारीका आधारमा भन्ने हो भने ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा पहिला साइन रेसुंगाले लाभांश घोषणा गर्नसक्छ । 

यो बैंकले गत वर्षको वासलात प्रारम्भिक स्वीकृतिका लागि राष्ट्रबैंक पठाइसकेको छ । ‘साइन रेसुंगाको वासलात आजभोलि नै अप्रभू होला ।’ राष्ट्रबैंकस्थित एक स्रोतले भन्यो–‘त्यसपछि उसले सञ्चालक समितिको बैठक बोलाएर लाभांश घोषणा गर्नसक्नेछ ।’ 

साइन रेसुंगाले योपटक दोहोरो अंकको लाभांश घोषणा गर्नसक्ने अवस्था छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार यो बैंकको लाभांश क्षमता ११ प्रतिशतभन्दा बढी रहेको छ । 

कामना सेवा विकास बैंकसांग्रिला डेभलपमेन्ट बैंकले पनि गत वर्षको वासलात प्रिमिलिनरी अप्रूभलका लागि राष्ट्रबैंक पठाइसकेका छन् । यी दुवै बैंकको वासलात समयमै स्वीकृत भए दशैंअघि नै लाभांश घोषणा हुनसक्ने देखिएको छ। 

कामना सेवा विकास बैंकले गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेमा निकै कम हुनेछ । २ प्रतिशत हाराहारीमा समेत लाभांश क्षमता यो बैंकसँग छैन । 

उता, सांग्रिलाले भने केन्द्रीय बैंकका केही प्रभिजनको दायीत्व थप भए ७ प्रतिशत हाराहारीमा लाभांश घोषणा गर्नसक्नेछ । योसँग ७.६२ प्रतिशत लाभांश क्षमता छ । 

विकास बैंकमध्ये निकै राम्रो वित्तीय प्रगति गरिरहेको गरिमा विकास बैंकसँग १०.७४ प्रतिशतको लाभांश क्षमता छ । उसले अडिट सकेर गत वर्षको वासलात कात्तिकको सुरुवातमै पठाउने तयारी गरिरहेको छ । यसरी हेर्दा यो बैंकले दशैंपछि लाभांश घोषणा गर्नसक्नेछ । 

महालक्ष्मी विकास बैंकको भने अडिट नै सकिइसकेको छैन । यो बैंकले तिहारपछि ब्यालेन्ससिट प्रिमिलिनरी अप्रूभलका लागि राष्ट्रबैंक पठाउने र लाभांश घोषणा गर्ने तयारी छ । ‘यो साता मंसिर अन्तिमसम्म एजीएम नै सक्ने लक्ष्य थियो, तर सकिएला जस्तो छैन ।’ बैंकका एक अधिकारीले बिजशालासँग भने–‘लाभांश घोषणा गरेर एजीएम सक्दासम्म यो पटक पनि पुस नै छुने देखियो ।’

यो बैंकसँग ८.०६ प्रतिशत लाभांश क्षमता छ । 

विकास बैंकहरुमध्येकै लिडर मुक्तिनाथ विकास बैंकले पनि अझैसम्म ब्यालेन्ससिट अप्रूभलका लागि पठाएको छैन । ब्यालेन्ससिट पठाएर तिहारअघि लाभांश घोषणा गर्ने बैंकको योजना छ । यसपटकको बैंकको वार्षिक साधारणसभामा सञ्चालक समितिको निर्वाचन समेत हुने भएकोले अन्य तयारीहरुका कारण यो बैंकले एजीएम सक्दासम्म पुस नै छुने देखिन्छ । यो बैंकसँग १० प्रतिशत हाराहारीमा लाभांश क्षमता छ । 

गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट निकै राम्रो लाभांश क्षमता बनाएको लुम्बिनी विकास बैंकको चाहिँ अडिट नै सकिइसकेको छैन । त्यसकारण ब्यालेन्ससिटको प्रिमिलिनरी अप्रभूलका लागि कहिले राष्ट्रबैंक जान्छ भन्ने कुनै टुंगो छैन । यो बैंकसँग ११.६१ प्रतिशत लाभांश क्षमता छ ।  

यसैगरी, ज्योति विकास बैंकको अडिट भने फाइनल स्टेजमा पुगेको छ । राष्ट्रबैंकको स्थलगत सुपरीवेक्षण केही दिनअघि मात्र सकिएका कारण अब चाँडै यो बैंकले वासलात पठाउन सक्नेछ । बैंक व्यवस्थापनले सकेसम्म दशैंअघिसम्म ब्यालेन्ससिटलाई प्रारम्भिक सहमतिका लागि केन्द्रीय बैंक पठाउने योजना बनाएको छ । यो वर्ष ज्योतिसँग ५.१८ प्रतिशत लाभांश क्षमता छ ।