काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन्।

उनले मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त भने हुन नसकेको बताएका छन् । बुधबार काठमाण्डौको पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताए ।

‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, निरन्तरको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजस्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा प्रगतितिरै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन।’

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने  राम्रोसँग हेक्का भएको  उनको भनाइ थियो।

उनले बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको पनि बताए । 

साथै उनले परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने पनि बताए ।

यसैगरी, उनले नीति तथा कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने प्रणाली र तरिका गलत  रहेको बताए ।