काठमाण्डौ । भारतका प्रतिष्ठित कम्पनीका कार्यकारी प्रमुख अर्थात् हाकिमहरुले औषत कर्मचारीभन्दा २४० गुणा बढी तलब खाने गरेको पाइएको छ । 

भारतमा खासगरी बहुराष्ट्रिय कम्पनी, ऊर्जा,औद्योगिक र वित्त क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रबन्ध निर्देशक र कम्पनीका अन्य शीर्ष अधिकारीहरूले सामान्य कर्मचारीसँगको तलब तथा सेवा, सुविधा र भत्ताको अन्तर झनै फराकिलो  रहेको छ ।

भारतको बहुराष्ट्रिय दुई पाँग्रे मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पका कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पवन मुंजालको तलब कति होला ? तपाई हामीले अनुमान गरेजति होला त ? पक्कै पनि यो अनुमान नमिल्न सक्छ ।

उनको तलब मात्रै बार्षिक ९९.५५ करोड भातीय रुपया(भारु) छ।  यसबारे कम्पनीको वार्षिक साधारणसभामा पारिश्रमिक बारे चर्चापरिचर्चा भएपछि उनले आफ्नो तलब २० प्रतिशतले घटाउने बताएका छन् । 

हिरो मोटोकर्पले वार्षिक ९० लाख युनिट सवारी उत्पादन गरी विश्वबजारमा बिक्री-वितरण गर्दै आएको छ। बजार सञ्चालकलाई पठाएको पत्रमा कम्पनीले आगामी वित्त वर्षबाट अध्यक्ष तथा सीईओको जिम्वेवारी अलग- अलग गर्ने निर्णय गरेको उल्लेख गरेको छ । जसअनुसार कम्पनीको अध्यक्ष पवन मुंजाल नै हुनेछन् भने सीईओ अलग व्यक्ति हुनेछन् ।

सभाले अलग रुपमा सीईओ नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्ने निर्णय गरिसकेको छ । मुंजाल आफैले सभामा आफ्नो तलब कटौती गर्ने प्रस्ताव गरेका थिए । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।

अब कार्यकारी अध्यक्षको नयाँ तलबमान वित्त वर्ष सन् २०२४ बाट लागू हुनेछ ।यसअघि कम्पनीले उनलाई ९९.५५ करोड भारु तलब दिएको थियो । यो तलब वित्त वर्ष सन् २०२२भन्दा १८ प्रतिशतले बढी हो । उनको नयाँ तलबमान अब करिब ८० करोड भारु हुने अनुमान भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।

भारतमा अधिकांश क्षेत्रमा औसत कर्मचारीको वार्षिक तलब तथा अन्य सेवासुविधा १० लाख भारुभन्दा कम छ । वार्षिक १० लाखभन्दा धेरै औसत कमाई हुनेमा ऊर्जा, बिजुली, औद्योगिक र वित्त क्षेत्र छन् ।आफूहरुले खोजेजस्तो श्रमशक्ति पाउनका लागि राम्रो रकम पनि भुक्तानी गर्नुपर्ने रहेछ भनेर कतिपय कम्पनीका कार्यकारी र सीईओहरुले महसुस गर्न थालेका छन् ।

अझ बजार विश्लेषकहरुले त भुक्तान गर्ने तलबको आधारमा उनीहरुको व्यवसाय र व्यवसायलाई सञ्चालन गर्ने तौरतरिकामा पनि फरकपना देखिन थालेको बताएका छन् । - एजेन्सी