काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा हालसम्मकै सस्तो र सुलभ प्रडक्ट बजारमा ल्याइएको दाबी गरेको छ । 

आज एक समारोहका बीच कम्पनीले नेपालको पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने दाबीसहित ‘सही प्लान’ नामको बीमा प्रडक्ट लञ्च गरेको हो । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, सूर्य ज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले संयुक्त रुपमा नयाँ प्रडक्ट लञ्च गरेका थिए । 

‘सही सोचौं, सही रोजौं’ ट्यागलाइनसहित लञ्च गरिएको नयाँ प्रडक्ट नेपालकै पहिलो आजीवन म्यादी बीमा रहेको, यसले कम प्रिमियममा आजीवन सुरक्षा दिने कम्पनीले दाबी गरेको छ । 

तिरेको प्रिमियमको ६ गुणासम्मको कभरेज दिने, बीमित ७० वर्ष पुगेपछि बीमा अवधिभर तिरेको सम्पूर्ण रकम फिर्ता हुने, बीमा अवधि समाप्तिपछि पनि होल लाइफ कभरेज हुने लगायतका विशेषता यो प्रडक्टमा रहेको बताइएको छ । 

कम्पनीले ३५ वर्षको उमेरमा बीमाको सुरुवात गर्नेहरुले १५ वर्षको भुक्तानी अवधिमा वार्षिक ४० हजारको प्रिमियम भुक्तानी गर्दा २५ लाख रुपैयाँको कभरेज पाइने प्रष्ट पारेको छ । यस्तो योजनामा प्रिमियम वार्षिक प्रिमियमबापत कुल ४० हजार ७१९ रुपैयाँ बुझाउनुपर्नेछ । 

यस्तो योजनामा  ५० वर्षमा भुक्तानी समाप्ति हुने र त्यस अवधिको कुल तिरिएको प्रिमियम ६ लाख १० हजार ७८५ फिर्ता गरिने, साथै कभरेज भने जीवनभर रहिरहने बताइएको छ । 

कुल २५ लाख रुपैयाँसम्मको कभरेज गर्दा बीमाशुल्क ४० हजार ७१९ तिरी कुल रकम ३१ लाख १० हजार ७८५ रुपैयाँ(प्रिमियम रिफण्ड र कभरेजसमेत) पाइनेछ । 

एककरोडको कभरेज लिन चाहनेले १ लाख ६२ हजार ८७६ बीमा शुल्क तोकिएको छ भने कुल पाउने रकम १ करोड २४ लाख ४३ हजार १४०(प्रिमियम रिफण्ड र कभरेज समेत) कायम गरिएको छ । 

कम्पनीले यस्तो बीमा प्रडक्ट अन्तर्गत विभिन्न योजनाको किसिम समेत सार्वजनिक गरेको छ । जसमा न्यूनतम बीमांक रकम रु. ५ लाख तोकिएको छ । 

यस्तै, न्यूनतम प्रवेश उमेर १८ वर्ष र अधिकतम प्रवेश उमेर ६० वर्ष राखिएको छ । 

अधिकतम बीमाशुल्क भुक्तानी समाप्ति उमेर ६५ वर्ष तोकिएको छ भने न्यूनतम भुक्तानी अवधि ५ वर्ष कायम गरिएको छ । 

बीमा शुल्क भुक्तानीका लागि एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिकमध्ये आफूलाई सहज हुने अवधि छनौट गर्न सकिनेछ । 

कम्पनीका अनुसार यो योजनाअन्तर्गत बीमितको दुर्घटनाका कारण मृत्यु भएमा रु. १ करोडसम्मको दोहोरो बीमा लाभ(एसिडेन्ट डेथ बेनिफिट) प्राप्त हुनेछ । 

बीमित दुर्घटनाबाट पूर्ण अशक्त भएमा अधिकतम १ करोड रुपैयाँसम्म पाइनेछ भने बाँकी अवधिको बीमा शुल्क छुट, बीमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा, ३५ घातक रोगहरुविरुद्ध रु. ५० लाखसम्मका उपचार खर्चको सुविधा तथा सहुलियत दरमा नियमानुसार ऋण पनि लिन पाइने कम्पनीले जनाएको छ ।