काठमाण्डौ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीमित मैत्री बन्दै गइरहेको छ ।

दाबी भुक्तानी नगरेको आरोप खेप्दै आएको सलिकोले चालू आर्थिक वर्ष २०८०/ ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार कम्पनीले चार महिनामा कुल ५ हजार ६२२ वटा दाबी परेकोमा ४ हजार ६४० वटा दाबी सेटल गरेको छ ।

कम्पनीले चार महिनामा कुल दाबीको ८२ प्रतिशत दाबी भुक्तानी पनि गरेको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको कम्पनी सगरमाथालुम्बिनी इन्स्योरेन्समा मर्जरको सिनर्जी देखिएको छ । कात्तिक मसान्तसम्ममा कम्पनीमा कुल सक्रिय बीमालेख संख्या ९६ हजार २३३ छ । 

चालू आवको चार महिनामा १अर्ब ६० करोड ५३ लाख रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा बढी बीमाशुल्क भित्र्याउने कम्पनी बनेको छ । यस सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आगामी दिनमा दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिने बताएका छन् ।