काठमाण्डौ । जिन्दल स्टील वर्क्स (जेएसडब्ल्यू) का अध्यक्ष सज्जन जिन्दल यतिखेर ठूलो समस्यामा छन् । 

१ लाख ८० हजार करोड भारु नेटवर्थ रहेको यो कम्पनी चलाइरहेका सज्जन आजभोलि नयाँ समस्यामा फसेका छन् ।अदालतको आदेशमा मुम्बई प्रहरीले ती उद्योगपतिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ ।

एक जना अभिनेत्रीको उजुरीमा यो मुद्दा दर्ता भएको हिन्दुस्तान टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

जेएसडब्ल्यू  ग्रूपका प्रबन्ध निर्देशक तथा अध्यक्ष सज्जन जिन्दलविरुद्ध ३० वर्षीया ती अभिनेत्रीलाई बलात्कार गरेको आरोपमा मुद्दा(एफआईआर) दर्ता गरिएको छ। बम्बई उच्च न्यायालयको आदेशमा, यो एफआईआर बीकेसी (बान्द्रा कुर्ला कम्प्लेक्स) पुलिस स्टेशनमा डिसेम्बर १३ मा दर्ता गरिएको छ।

जिन्दलविरुद्ध भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), ३५४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

आइतबार मात्रै कम्पनीको तर्फबाट जारि गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सज्जन जिन्दलले यो आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दछन्। यो आरोप पूर्णतया झुटो र आधारहीन छ। अनुसन्धान जारी रहेकाले यस विषयमा थप टिप्पणी गर्न नहुने भएकाले अनुसन्धानमा पूर्ण सहयोग गर्न उनी प्रतिबद्ध छन् । हामी तपाईंलाई परिवारको गोपनीयताको सम्मान गर्न अपील गर्दछौं ।’

उजुरीकर्ताका अनुसार २०२२ जनवरीमा कम्पनीको मुख्यालयभन्दा माथि बनेको पेन्टहाउसमा बलात्कार भएको थियो ।

पीडित महिलाले यसअघि पनि बीकेसी प्रहरी चौकीमा उजुरी दिएकी थिइन् तर उनको आरोपलाई गम्भीरतापूर्वक लिइएको थिएन । त्यसपछि महिलाले एफआईआर दर्ता गर्न अदालतको सहारा लिएकी थिइन् । अहिले अदालतको आदेशमा यो मुद्दा दर्ता भएको छ ।

एफआईआरका अनुसार उजुरीकर्ता एक अभिनेत्री हुन् र उनले जिन्दललाई अक्टोबर २०२१ मा दुबईमा भेटेकी थिइन् जहाँ उनीहरू दुबैले भीआईपी बक्समा आईपीएल खेल हेरेका थिए ।

ती महिलाले जिन्दलसँग आफूले पटक पटक भेट गरेको पनि बताएकी छन् । पछिल्लो पटक जनवरीमा उनी एक बैठकको लागि कम्पनीको मुख्यालय गएकी थिइन् जहाँ जिन्दलले उनलाई पेन्टहाउसमा लगे र विरोध गर्दा पनि आफूलाई जबरजस्ती गरे।  यो स्टिल कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो ।

व्यापारिक पत्रिका फोर्ब्सका अनुसार सज्जन जिन्दलकी आमा सावित्री जिन्दल देशकै सबैभन्दा धनी महिला हुन् । उनीसँग २.०८ लाख करोड भारुको सम्पत्ति छ।

एक अर्को विवरण अनुसार सज्जन जिन्दलले १२ वटा कम्पनीको सेयरमा लगानी गरेका छन्, जसको कुल मूल्य ३९ हजार २६३ करोड  भारु छ। -एजेन्सीहरु