काठमाण्डौ । लाल सागरमा व्यावसायिक जहाजहरूमा आक्रमण सुरु भएपछि तेल र अन्य सामानको मूल्य बढ्ने खतरा रहेको विश्लेषकहरूले चेतावनी दिएका छन्।

आक्रमणका कारण  विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी उनीहरुको छ ।

यमनका हुथी विद्रोहीहरूले जहाजलाई नै निशाना बनाएर ड्रोन र रकेट आक्रमण गरेपछि कयौं कम्पनीहरूले त्यो जलमार्गमा  ढुवानी बन्द गरेका छन् ।

आक्रमणपछि विश्वको दोस्रो ठूलो सिपिङ कम्पनी मेस्कले आफ्ना जहाजहरू बाटो परिवर्तन गरेर अफ्रिकाको केप अफ गूड होप भएर लैजान थालेको  बताएको छ ।

अमेरिकाले लाल सागर मार्गमा जहाजको सुरक्षाका लागि सैन्य अपरेसन पनि सुरु गरेको छ । उक्त अपरेसनमा बेलायत, क्यानडा, फ्रान्स, बहराइन, नर्वे र स्पेन जस्ता देशका सुरक्षाकर्मीहरू पनि परिचालित रहेको बताइएको छ ।

यो मार्ग विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मूख्य रुट हो । लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्ने सीएनबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । विश्वको कुल व्यापार मध्ये १२ प्रतिशत व्यापार लाल सागर भएर हुन्छ ।

अन्तरराष्ट्रिय बजारमा यो समाचार तयार पार्दाखेरि लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स भिडिजनमा ब्रेन्टको भाउ प्रतिब्यारेल ०.१० प्रतिशतले बढेर ७८ डलर ०३ सेन्ट कायम भएको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ ०.१२ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर ९१ सेन्टमा पुगेको थियो । -एजेन्सी