काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ ।

२०७९ पुष ७ गते साविक सूर्या लाइफ र ज्योतिलाइफ इन्स्योरेन्स बीच एकापसमा गाभिएर ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत रुपमा जीवन बीमा व्यवसाय सुरु गरेका थिए । 

एक वर्षको अन्तरालमा कम्पनीमा मर्जरको सिनर्जी देखिएको छ । मर्जरपछि यस अवधिसम्म आइपुग्दा कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

साथै मर्जरपश्चात् कम्पनीको जीवन बीमाकोष समेत बढेर कोषमा ३० अर्ब रुपैयाँ सञ्चित भएको छ भने कम्पनीको कुल लगानी ३५ अर्ब रुपैयाँ पुगेको छ । 
 

हाल कम्पनीमा जारी बीमा लेख संख्या २३ लाख रहेको छ । त्यस्तै, कम्पनीले शाखा सञ्जाल समेत बृद्धि गरी १७६ वटा शाखा कार्यालयमार्फत् जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । सूर्यज्योति लाइफ मर्जरपछि झनै बीमित मैत्रीबन्दै कुल ५२ करोड रुपैयाँको दाबी भुक्तानी भइसकेको छ । 
 

कम्पनीमा हाल कर्मचारीको संख्या ५७९ रहेको छ भने देशैभरी करिब १ लाख अभिकर्ता कम्पनीमा आबद्ध रहेका छन् । एक वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी दिनमा अझै लगानीको दायरा बढाउँदै बीमाकोषको आकार समेत बृद्धि गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले बताए । 
 

यस अवधिसम्म आइपुग्दा नेटवर्थ ७अर्ब ४० करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन कम्पनीले योजना बनाइसकेको बताएको छ । कम्पनीलाई तोकिएको पूँजी पुर्‍याउन ६० करोड रुपैयाँ आवश्यक छ । 
 

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी बृद्धि योजना पेश गर्न निर्देशन दिए पश्चात् क्यापिटल प्लान पेश गरिसकेको कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीले बताए । 
 

‘हामीले पूँजी बृद्धिको योजना प्राधिकरणमा पेश गरिसकेका छौं, कम्पनीलाई अब ६० करोड रुपैयाँ मात्रै आवश्यक हो । तोकिएको पूँजी पुर्याउन कम्पनीसँग पर्याप्त क्षमता छ’ उनले भने, ‘कम्पनीले हकप्रद जारी नगरी बोनस सेयरबाटै पूँजी पुर्‍याउने प्रस्ताव गरेको छ ।’
 

बीमा प्राधिकरणले सो सम्बन्धि प्रस्ताव स्वीकृत गरेमा कम्पनीको सञ्चालक समिति बैठकबाट पूँजी बृद्धि प्रक्रिया अघि बढ्ने पनि उनले बताए ।