 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वको व्यापार फेरि एकपटक अनिश्चितताको भुमरिमा फसेको छ ।
लालसागरमा व्यावसायिक जहाजहरूमा लगातार आक्रमण सुरु भएको र यो तत्कालै नरोकिए विश्व अर्थतन्त्र संकटमा फस्ने बजार विश्लेषकहरूले चेतावनी दिएका छन्।
रसिया- युक्रेन युद्ध तथा इजरायल- हमास बीचको युद्धका कारण विश्वव्यापार नै प्रभावित भइरहेको अवस्थामा इरान समर्थित हुथी विद्रोहीले लालसागर हुँदै ओहोर दोहोर हुने व्यवसायिक जहाजमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।
केहि दिन अघि मात्र साउदी अरबबाट भारत आउँदै गरेको एमभी केम प्लुटो नामक व्यापारिक जहाजमा लाल सागरमा ड्रोन आक्रमण भएको थियो। भारतको पश्चिमी तटदेखि ४०० किलोमीटर पर ड्रोन आक्रमण भएको थियो ।त्यसपछि उक्त जहाज मुम्बई फर्किएको थियो ।
स्वेजनहर हुँदै लालसागर भएर आउने यो जलमार्ग यूरोप तथा एशियाली मुलुक जोड्ने महत्वपूर्ण कोरोडिर पनि हो । विश्वको कुल व्यापार मध्ये १२ प्रतिशत व्यापार लाल सागर भएर हुन्छ ।
यमनका हुथी विद्रोहीको आक्रमणका कारण विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने आकलन छ ।विद्रोहीहरूले जहाजलाई नै निशाना बनाएर ड्रोन र रकेट आक्रमण गरेपछि कयौं कम्पनीहरूले त्यो जलमार्गमा ढुवानी बन्द गरेका छन् ।
आक्रमणपछि विश्वको दोस्रो ठूलो सिपिङ कम्पनी मेस्कले आफ्ना जहाजहरू अनिश्चित कालका लागि सञ्चालनमा रोक लगाएको छ । कपितय सिपिङ कम्पनीहरुले अफ्रिकाको केप अफ गूड होप भएर लैजान थालेका छन् ।
अमेरिकाले भने लालसागर मार्गमा जहाजको सुरक्षाका लागि सैन्य अपरेसन पनि सुरु गरेको छ ।
उक्त अपरेसनमा बेलायत, क्यानडा, फ्रान्स, बहराइन, नर्वे र स्पेन जस्ता देशका सुरक्षाकर्मीहरू परिचालित छन् ।यो मार्ग विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मूख्य रुट हो ।
लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्ने सीएनबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । -एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19