काठमाण्डौ । डिजिटल करेन्सी बिटक्वाइनका लागि सन् २०२३ सुखद रह्यो ।

यो वर्ष बिटक्वाइनको मूल्यमा १५२ प्रतिशतको उछाल आयो । गत वर्षको वृद्धि सन् २०२४ मा पनि कायम रहने क्रिप्टोकरेन्सी उद्योग भित्र र बाहिर चर्चा हुन थालेको छ । सन् २०२१ मा रेकर्डतोड उचाइमा पुगको बिटक्वाइनको मूल्य सन् २०२२ मा भने घट्न पुग्यो ।

उच्च तहका प्रोजेक्टको असफलता,तरलता समस्या र टाट पल्टने अवस्थाका कारण सन् २०२२ मा बिटक्वाइनको मूल्यमा गिरावट आएको थियो ।सन् २०२३ मा विश्वको सर्वाधिक ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) चाङपेङ झाओ तथा क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका सीईओ साम बैंकम्यान-फ्राइड नियामकको अनुसन्धानपछि कानूनी फन्दामा समेत परेका थिए । 

तर अहिले यी दुई हाई–प्रोफाइल केस सेलाइसेको छ । अन्य क्रिप्टोकरेन्सीका कार्यकारीहरुले यस घटनाबाट पाठ सिक्दै अगाडी बढ्ने योजना बनाएका छन् । क्रिप्टो बजारमा फर्किएको उत्साहलाई औंल्याउदै कार्यकारीहरु नयाँ बुल रन आउनेमा विश्वस्त देखिन्छन् ।

उनीहरुले बिटक्वाइन हाल्भिङ(टुक्रयाउने) र बिटक्वाइन कारोबारका लागि एक्सचेञ्ज मार्केट(ईटीएफ) लाई अनुमति दिइने आकलन गरेका छन् । 

अमेरिकाको पूँजीबजार नियामक‘युस सेक्युरिटिज एण्ड एक्सचेञ्च कमिसन’ले पहिलो बिटक्वाइन एक्सचेञ्ज ट्रेड फण्डलाई अनुमति दिने सम्भावना बढेपछि क्रिप्टो बजारमा उत्साह थपिएको छ । 

मोबिअस क्यापिटल मार्केटका संस्थापक मार्क मोबिअसले सन् २०२४ को अन्त्यसम्ममा बिटक्वाइनको मूल्य ६० हजार डलर पुग्ने प्रक्षेपण गरेका छन् । त्यस्तै क्रिप्टो माईनिङ कम्पनी बिट माइनिङका प्रमुख अर्थशास्त्री युउवोई याङका अनुसार सन् २०२४ मा बिटक्वाइनको मूल्य ७५ हजार डलर पुग्न सक्छ ।

उनले बिटक्वाइन २५ हजार डलरदेखि ७५ हजार डलरसम्ममा कारोबार हुन सक्ने बताएका छन् । तीव्र उतारचढाव र डर र लोभ जस्ता मानविय प्रवृतिका कारण मूल्य बढेपनि सबै लगानीकर्ताले मुनाफा कमाउन भने नसक्ने उनले बताएका छन् ।त्यस्तै अनुसन्धान कम्पनी क्वाइनसेयर्सका प्रमुख जेम्स बटरफिलले यस वर्ष बिटक्वाइनको मूल्य ८० हजार डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत नोभेम्बरमा बिटक्वाइनको मूल्य १ लाख डलर पुग्ने प्रक्षेपण गरेको थियो । सबैभन्दा धेरै आकलन गर्नेमा भेन्चर क्यापिटल क्वाइन फण्ड रहेको छ । कम्पनीले सन् २०२४ मा बिटक्वाइनको मूल्य २ लाख ५० हजारदेखि ५ लाख डलरसम्म पुग्न सक्ने आकलन गरेको छ ।