काठमाण्डौ । तपाईलाई पूर्व कर्मचारीले पनि छाडेको कम्पनीबाट वार्षिक रुपमा अर्ब डलर कमाउँछ भन्ने सुन्दा आश्चर्य लाग्न सक्ला । तर यो यथार्थ हो ।त्यो पनि चानचुन कमाइ होइन, १ अर्ब डलर ।

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका पूर्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्टिभ बाल्मरले सेयर लाभांशबापत वार्षिक १ अर्ब डलर कमाइरहेका छन् । 
 

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सका पूर्व सहयोगी स्टिभ बाल्मरका लागि यो वर्ष निकै सुखद बनेको छ । अहिले उनी संसारका धनाढ्य व्यक्तिको सूचिको पाँचौ स्थानमा उक्लिएका छन् ।

उनको कुल नेटवर्थ १२९ अर्ब डलर छ । उनी माइक्रोसफ्टका सबैभन्दा ठूला व्यक्तिगततर्फका सेयर धनी पनि हुन् । 
 

एक तथ्यांक अनुसार उनको माइक्रोसफ्टमा बाल्मरको ३३ करोड ३२ लाख कित्ता सेयर छ । अर्थात् उनको कम्पनीमा कुल सेयरको ४ प्रतिशत सेयर स्वामित्व छ ।
यो वर्ष मात्रै माइक्रोसफ्टको सेयर मूल्य ५६ प्रतिशतले बढ्दा बाल्मरको नेटवर्थ ४४ अर्ब डलरले बढेको छ ।
बाल्मरले माइक्रोसफ्टमा ३४ वर्षको करियरमा प्रशस्त सेयर पाएका थिए ।

उनी सन् १९८० मा माइक्रोसफ्टमा कर्मचारीका रूपमा  प्रवेश गरेका थिए । उनी सन् २००० मा उनी कम्पनीका सीईओ पनि बने ।त्यसबेला वार्षिक ५० हजार डलर र मुनाफाको १० प्रतिशत रकम लिने सर्तमा उनी अनुबन्धित भएका थिए ।


तर पछि तलबभन्दा पनि उनले कम्पनीको सेयर लिन थाले । जुन निर्णयले नै उनलाई धनाढ्य बन्न सहयोग गरेको हो। ‍ब्लुम्बर्गका अनुसार चौथो स्थानमा रहेका गेट्सभन्दा ११ अर्ब  डलरले मात्र पछाडि छन् ।

गेट्सको कुल नेटवर्थ चाहिं १४० अर्ब डलर छ । उनले सन् २०१४ मा उनले सीईओबाट राजीनामा दिएका दिए । माइक्रोसफ्टले सन् २०२३ मा प्रतिकित्ता सेयरमा २ डलर ७९ सेन्ट लाभांश दिएको छ ।

यसको अर्थ कुल सेयरबापत उनले कम्पनीबाट यो वर्ष ९३ करोड डलर पाउनेछन् । सन् २०२४ मा भने भुक्तानीको आकार स्वभाविक रुपमा बढ्ने क्रममा छ ।कम्पनीको सेयरमूल्य अहिले प्रतिकित्ता ३७०.८७ डलर छ ।

कम्पनीले वार्षिक प्रतिकित्ता सेयरमा लाभांश १० प्रतिशतले बढाएर ३ डलरमा पुर्‍याएको छ । अर्थात् सन् २०२४ मा बाल्मरले लाभांश भुक्तानीबापत ९९ करोड ९६ लाख डलर पाउनेछन् ।

हरेक वर्ष कम्पनीले लाभांश बढाइरहेको छ । यसलाई आधार मान्ने हो भने अबका दिनमा उनको लाभांश भुक्तानीको आकार झनै बढ्ने देखिन्छ ।-एजेन्सी