काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्ताहरुमाझ गलत सूचना प्रवाह गरी बजार प्रभावित गराएको बिषयमा पीडितले व्यग्रताका साथ प्रभावकारी कारबाहीको प्रतिक्षा गरिरहेको बेला धितोपत्र बोर्डले भने एक टोलीलाई बैंकमा पठाएको छ । 

बोर्डले आफू अन्तर्गतको सुपरीवेक्षण विभागका तीन कर्मचारीलाई घटनाको बिषयमा थप बुुझ्न तथा छानबिन गर्न भन्दै सोमबार इन्भेष्टमेन्ट बैंकको कर्पोरेट अफिस पठाएको हो । 

इन्भेष्टमेन्ट बैंकलाई पठाइएको तीन दिने स्पष्टीकरण आएपछि ऊमाथि गलत सूचना प्रवाहको बिषयमा कडा कारबाही हुने अपेक्षा भइरहेको बेला बोर्डले तीन सदस्यीय टोलीलाई बैंकमा थप कुरा बुुझ्न पठाएको बिषय ‘रहस्यमय’ बनेको छ । 

बोर्डका प्रवक्ता निरज गिरीले लिखित रुपमा बैंकबाट आएको स्पष्टीकरणको बिषयमा थप बुुझ्नुुपर्ने भएकोले तीन कर्मचारीको टोली त्यहाँ पठाइएको दाबी गरे । इन्भेष्टमेन्ट बैंकले सूचनामा फट्याईं गरेको कुरा सामान्य लगानीकर्ताले समेत बुुझिसकेका र त्यो बिषय बोर्डलाई समेत जानकारीमा रहेको, बोर्डले बैंकको आधिकारिक धारणा लिखित प्रष्टीकरणमार्फत पाइसकेको अवस्थामा थप के कुरा बुुझ्नलाई टोली पठाउनुपर्ने भयो ? भन्ने बिजशालाको प्रश्नमा उनले प्रष्ट कारण भन्न चाहेनन् । यत्ति भने–‘लिखित रुपमा उसले प्रष्टीकरण बुुझाएपछि त्यसमा दाबी गरिएको कुरा सही हो या होइन भन्ने बिषय बुुझ्न टोली गएको हो ।’ बिजशाला संवाददाताले बैंकले आफ्नो लिखित प्रष्टीकरणमा त्यस्तो के दाबी गरेको छ ? भन्ने जिज्ञासा राख्दा उनले उत्तर दिन चाहेनन् । ‘टोली फर्किएर हामी बैठक बस्छौ ।’ उनले भने–‘त्यसपछि सबै कुरा एकमुुष्ठ रुपमा बाहिर ल्याउला ।’ 

बोर्डकै सहप्रवक्ता निरञ्जय घिमिरेले बैंकबाट आइतबार नै लिखित स्पष्टीकरण आइसकेको उल्लेख गर्दै यो बिषय अध्ययनकै क्रममा रहेको दाबी गरे । ‘यो बिषयमा बोर्डले के गर्ने भन्ने बिषय टुुंग्याउन समय लाग्छ होला ।’ उनले भने–‘हामी छलफल र अध्ययनकै चरणमा छौ ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंकले गत बुुधबार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीका लागि सेयर र नगद लाभांश वितरणको घोषणा गर्दा बजार प्रभावित हुने गरी गलत सूचना दिएको थियो । सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भनेको बैंकले त्यसको एकघण्टा नबित्दै टाइप मिस्टेक भनी २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरणको निर्णय चाहि भएको बताएको थियो । बैंकको गलत सूचनाका कारण धेरै लगानीकर्ताले एकघण्टाको अवधिमा लाखौं रुपैयाँ यसको सेयर खरीदमा खर्च गरेका थिए । पहिलो सूचनापछि बैंकको मूल्यमा समेत उछाल आएको थियो । 

त्यसपछि यो बिषय गम्भीर अपराध भएको उल्लेख गर्दै लगानीकर्ताहरुले घटना प्रष्ट भइसकेकोले बैंकमाथि कडा कारबाही हुनुपर्ने माग गरेका थिए । केही लगानीकर्ताहरुले पहिलाकै सूचना कार्यान्वयन गराउनुपर्ने माग गरेका थिए भने धेरैले गलत सूचनाले प्रभावित भएको दिनको सो बैंकको कारोबार नै रद्ध गर्नुपर्ने माग गरेका थिए । लगानीकर्ताको माग सम्बोधन गर्न भन्दै बोर्ड र नेप्सेले सोही दिन स्पष्टीकरण सोधेका थिए । 

बोर्डले इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणको क्रममा लगानीकर्ताको अहित हुने अवस्था देखिएको भन्दै छानबिन नटुंगिएसम्मका लागि बुधबारको सो बैंकको सेयर कारोबार राफसाफ नगर्न सिडिएससीलाई निर्देशन दिएको थियो । 

बोर्डको एकपछि अर्को कदमले बजारमा खेल्न खोज्ने बैंकमाथि शीघ्र कारबाही हुने अपेक्षामा रहेका लगानीकर्ताले आइतबार नै बोर्डको आधिकारिक धारणा आउने अपेक्षा गरेका थिए । तर, आइतबार ‘फ्रस्ट आवर’मै बैंकबाट लिखित जवाफ आइसकेको अवस्थामा सोमबार फेरि थप कुरा बुुझ्न भन्दै टोली पठाउनुु र छानबिनको बिषयलाई लम्ब्याउनुले आम लगानीकर्तामा संशय पैदा गरिदिएको छ ।