काठमाण्डौ । पूँजीवृद्धिको चटारोका कारण सेयरधनीलाई हकप्रदको भारी बोकाइरहेका कम्पनीहरुले ठूलो संख्यामा नबिकेको सेयर लिलामीमा राख्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । एभरेष्ट जस्ता बैंकहरुको सेयर लिलामीमार्फत १ सय रुपैयाँमा पनि बिक्री नभइरहेको अवस्थामा माछापुच्छ्रे बैंकले पनि हकप्रद निश्कासनको क्रममा बिक्री नभएका १ लाख ६० हजार ७ सय ४२.६४ कित्ता सेयरको लिलामी खुलाउने भएको छ । 

बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको १ लाख ४० हजार ७ सय ४०.२४ कित्ता तथा संस्थापक समूहतर्फको २० हजार २.४० कित्ता सेयर आगामी कात्तिक ५ गतेदेखि लिलामीमा राख्ने भएको हो । 

यो बैंकले गत साउन ५ देखि निश्कासन गरेको हकप्रदमा सबै सेयरधनीले आवेदन दिएका थिएनन् । आवेदन नपरेका सेयर बिक्रीका लागि लिलामी खुलाउन लागेको हो । 

लिलामीमा सहभागी हुन चाहनेले कात्तिक १३ गतेसम्म बिक्री प्रबन्धक एनएमबी क्यापिटलको मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । परेका बोलपत्र कात्तिक १४ गते खोलिने बताइएको छ । 

इच्छुक लगानीकर्र्ताले प्रतिकित्ता न्यूनतमा १०० रुपैयाँ मूल्य राखेर न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

हाल यो वाणिज्य बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रदको सम्पूर्ण पूँजीकरणपछि चुक्तापूँजी वृद्धि भई ७ अर्ब ३९ करोडको उचाईमा पुुग्नेछ । 

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ३ सय १५ रुपैयाँ रहेको छ ।