काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका सीइओ भरत ढकालले बैंक छाड्ने समाचारले अहिले बजार तातेको छ । बैंकका संचालकहरुसँग राम्रो सम्बन्ध रहेका ढकालको कार्यकाल सकिएको भन्दै चैत २ गते बसेको १८९ औं बोर्ड बैठकले डेपुटी सीइओ प्रद्युम्न पोखरेललाई आगामी चार वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको छ । पोखरेलले मुक्तिनाथ बैंकको सीइओको कार्यभार आगामी जेठ १ गतेदेखि सम्हाल्ने छन् । 

मोफसलको गाउँबस्तीबाट बैंक सुरु गरी मुक्तिनाथ विकास बैंकलाई देशकै टप विकास बैंक बनाएका ढकाल अब बैंकिङ क्षेत्रबाटै पलायन हुन लागेको हुन् ? वा, मुक्तिनाथ छाडेर उनी अन्य बैंकमा पो जान लागेका हुन् कि ? यस्तै यस्तै जिज्ञासाहरुको समाधान गर्दै ढकालले बिजशालासँग आफ्नो भावी योजनाको बिषयमा केही कुरा खुलाएका छन् । 

उनले आफू भविष्यमा पनि बैकिङ क्षेत्रबाट टाढा नहुने प्रष्ट पारेका छन् । ‘म यही क्षेत्रमा हुन्छु, मुक्तिनाथसँगै जोडिएर रहन्छु ।’ उनले भने–‘बैंक भन्दा निकै ठूलो कृषिसँग सम्बन्धित प्रोजेक्ट(बैंकसँगै सम्बन्धित)मा मेरो कुनै न कुनै किसिमको आबद्धता हुनेछ ।’

उनले कस्तो प्रोजेक्ट हो भन्ने बिषयलाई थप प्रष्ट्याउन चाहेनन् । उनले जेठपछिको आफ्नो जीवन अझ बढी सक्रियताका साथ अगाडि बढाइने बताएका छन् । 

तत्काललाई फरक बैकिङको अवधारणाअनुसार मुक्तिनाथलाई उचाईमा पुर्याएका उनको नेतृत्वमा जीडीपीमा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रसँग सम्बन्धित कुनै नौलो अवधारणा आउनेसम्मको आशा गरौं ।