►भगीरथ योगी
(बीबीसी न्युज नेपाली)

गत शुक्रवार अनुसन्धानसँग सम्बन्धित एउटा बैठकमा भाग लिइरहेका बेला प्राध्यापक पराग पाठकलाई एउटा फोन आयो।

फोनमा उनले प्रतिष्ठित जन बेट्स क्लार्क मेडल २०१८ प्रदान गरिएको सूचना पाए।

सैँतीस वर्षीय अर्थशास्त्रीका लागि यो एउटा गर्वको क्षण थियो।

"यो निकै विशेष क्षण थियो। कस्तो प्रतिक्रिया जनाउने भनेर म त अलमलमै परेँ," बीबीसीसँग कुरा गर्दै प्रा. पाठकले भने। "यो पुरस्कारले बजार डिजाइन र शिक्षाको क्षेत्रमा मलगायत अन्य अनुसन्धानकर्ताले गरिरहेको अनुसन्धानलाई दरिलो समर्थन दिएको छ," उनले थपे।

चालीस वर्षमुनिका अर्थशास्त्रीलाई उनीहरूको मौलिक अनुसन्धानका लागि दिइने यो पुरस्कार अमेरिकन इकोनोमिक्स असोसिएशनले प्रदान गर्दछ। सो पुरस्कार पाएका कैयौँ युवा अर्थशास्त्रीले पछि गएर अर्थशास्त्रमा नोबेल पुरस्कार पनि पाएका छन्।

पाठकले अमेरिकाको प्रतिष्ठित पुरस्कार पाएको समाचारले विदेशमा बस्ने नेपालीहरूमाझ र नेपाली सञ्चारमाध्यममा पनि उल्लेख्य स्थान पायो। "गएको केही दिनयता नेपाली समुदाय र प्रवासी नेपाली समुदायको उत्साहजनक समर्थनबाट म भावविभोर भएको छु र एकजना नेपाली मूलको अमेरिकी हुनुमा म गर्व गर्छु," पाठकले भने।

अध्ययन पछि अध्यापन

सन् सत्तरीको दशकमा डा. कमल पाठक र श्रीमती ज्योति पाण्डेय पाठक अमेरिकामा बसाइँ सरे। सन् १९८० मा न्यूयोर्कमा पराग जन्मिए। हाईस्कूलसम्मको अध्ययन न्यूयोर्कमै गरेका पराग सानैदेखि पढाइमा तीक्ष्ण थिए। उनले विश्वविख्यात हार्वर्ड विश्वविद्यालयमा स्नातक अध्ययनका लागि नाम निकाले।

त्यसपछि त्यहीँबाट उनले स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन पूरा गरे। एघार वर्षअघि उनले व्यापार अर्थशास्त्रमा पीएचडी गर्दा एल्भिन रथ उनका सुपरीक्षक थिए। उनले सन् २०१२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाए। सामाजिक अध्ययन र सार्वजनिक नीतिसँग सम्बन्धित विषयमा अनुसन्धानप्रतिको उनको रुचि रथको सङ्गतले अगाडि बढायो।

पाठकले सन् २००८ मा अध्ययन अनुसन्धानको क्षेत्रमा संसारमै नाम कमाएको अर्को संस्था म्यासचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलजी (एमआईटी) मा अध्यापन गर्न थाले । उनको अनुसन्धानको काम पनि जारी नै रह्यो। एक दशकको छोटो अवधिमै उनकै नेतृत्वमा एमआईटीमा 'स्कूल इफेक्टिभ्नेस एन्ड इन्इक्वेलिटी इनिशिअटिभ' स्थापना गरिएको छ। त्यसले शिक्षा, मानव पुँजी र आयको वितरण जस्ता क्षेत्रमा अध्ययन एवम् अनुसन्धान गर्छ।

बजार डिजाइन र शिक्षा क्षेत्रमा उनको कामको सम्मान गर्दै उनलाई सन् २०१२ मा अमेरिकी राष्ट्रपतिको कार्यालयले कदर गर्‍यो। आफ्नो कामका लागि थुप्रै पुरस्कार र सम्मान पाइसकेका पाठकलाई सन् २०१३ मा बस्टनका मेयर टमस मेनिनाले आफ्नो प्रमुख प्राविधिक सल्लाहकार नियुक्त गरे। उनले मेयरलाई बस्टनभित्र रहेका विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने सल्लाह दिएका थिए। बस्टनबाहेक उनले शिकागो, डेन्भर, नेवार्क, न्यू अर्लियन्स, न्यूयोर्क र वाशिङ्टन डीसीका स्थानीय अधिकारीहरूलाई पनि विद्यालय छनोट प्रणाली डिजाइन गर्न सघाएका छन्।

अहिले संसारभरि नै विद्यालय शिक्षालाई गुणस्तरीय तुल्याउने र शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीबाट कसरी अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने बहस चलिरहेको छ। संयुक्त राज्य अमेरिकामा पनि सरकारी अनुदानबाट चल्ने विद्यालयहरू, सरकारी अनुदानबाटै चल्ने तर सञ्चालन स्वतन्त्रता भएका 'चार्टर स्कूल' भनिने विद्यालयहरू र निजी तथा आवासीय विद्यालयहरू छन्। प्रा. पाठक र उनको टोलीले विभिन्न शैक्षिक मोडेलहरू र तिनको नतिजाबारे अध्ययन गरेका छन्। "मैले गरेको अनुसन्धानले अमेरिकाका ठूला नगरहरूमा ती मोडलहरू कार्यान्वयन गर्न सजिलो बनाइदिएको छ," पाठकले भने।

त्यसो त संयुक्त राज्य अमेरिका र अरू मुलुकहरूमा पनि बच्चाबच्चीलाई विद्यालय पठाउने काम सोचेभन्दा बढी जटिल देखिन्छ। पाठक र उनका सहकर्मीहरूले गरेको अध्ययनले बाबुआमालाई उनीहरू आफ्ना छोराछोरी कुन विद्यालयमा पढाउन चाहन्छन् भन्ने छनोट गर्न सजिलो बनाइदिएको छ भने व्यवस्थापकहरूलाई यो पद्धतिले काम गरिरहेको छ कि छैन भन्ने अनुगमन गर्न।

नेपाललाई पाठ

के अमेरिकी सन्दर्भमा गरिएको अनुसन्धान नेपालजस्तो विकासशील मुलुकलाई पनि सान्दर्भिक हुन सक्ला? भन्ने प्रश्नमा पाठक भन्छन्, "अर्थशास्त्र र बजार डिजाइनसँग सम्बद्ध कैयौँ साधनहरू नेपालजस्ता विकासशील मुलुकका लागि पनि उपयोगी हुनसक्छ। यो शिक्षा मात्रै हैन, स्वास्थ्य र यातायातको क्षेत्रमा पनि लागु हुनसक्छ। स्मार्ट नीतिहरूले उपलब्ध साधनस्रोतको कसरी उचित ढङ्गले बाँडफाँट गर्ने र सबैभन्दा आवश्यक परेको समुदायसम्म पुर्‍याउने भनेर सघाउन सक्छन्," उनले भने।

त्यसो त शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्त गर्ने कुरा नीतिनिर्माताहरू, अभिभावक र परिवारका लागि पनि निकै चुनौतीपूर्ण रहेको पाठक स्वीकार्छन्। "तर पनि हामीले शिक्षाको गुणस्तरको मूल्याङ्कनलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने हुन्छ," उनले भने। "मेरो विचारमा विद्यालय सञ्चालन गर्न रकम दिने निकायले ती विद्यालयलाई जिम्मेवार बनाउनै पर्छ र उनीहरूको प्रगतिको कडा अनुगमन गर्नैपर्छ।"

प्रा. पाठकका अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै हैन, संसारभरि नै विद्यार्थीलाई पढाउन लाग्ने राज्यको खर्च (प्रति विद्यार्थी लागत) बढ्दै गइरहेको छ। त्यसका लागि सफल मोडेलहरूबाट सिक्न र तिनमा आधारित भएर काम अगाडि बढाउन आवश्यक हुने उनले बताए। "अमेरिकामा विभिन्न प्रणालीहरूबीचको व्यवस्थित प्रतिस्पर्धा प्रभावकारी देखिएको छ र त्यो नेपालमा पनि उपयुक्त हुनसक्छ। तर मुख्य कुरा के भने तथ्याङ्क र प्रमाणलाई उपेक्षा गरेर राजनीतिक लाभहानिको दृष्टिकोणले निर्णय लिनु हुँदैन। आवश्यक परे अलोकप्रिय निर्णयहरू पनि लिनुपर्छ," उनले भने।

संयुक्त राज्य अमेरिकाका केही राज्यमा विद्यालयहरूले राम्रो परिणाम ल्याउनुमा "हाई एक्स्पेक्टेशन्स, हाई सपोर्ट" भनिने मोडलले काम गरेको विज्ञहरू बताउँछन्। यसमा विद्यार्थीहरूले लामो समय विद्यालयमै बिताउँछन् भने अरू विद्यालयको तुलनामा उनीहरूको पढाइ पनि धेरै दिनसम्म हुन्छ। "तर पर्याप्त स्रोतसाधन उपलब्ध नगराएसम्म यो सम्भव हुँदैन," पाठकले भने।

नेपाल सम्बन्ध

दश वर्षको उमेरमा ‌आफ्ना अभिभावकसँग पहिलो पटक नेपाल पुगेका पाठक फुर्सद मिल्यो भने नेपाल जान रुचाउँछन्। पछिल्लो पटक उनी दुई वर्षअघि नेपाल पुगेका थिए। उनकी श्रीमती डा. रुमा राजभण्डारीले नेपालबाट अमेरिका गएर उच्च शिक्षा लिएकी हुन्।

खानामा दाल, भात र साग रुचाउने पाठकको घरमा पटक पटक मम पनि पाक्ने गर्छ। छुट्टीको समयमा आफ्नै घरको बगैँचामा काम गर्नु र दौडिनु उनको सोख हो।

"तर अहिले मेरा दुई छोराहरू अभिषेक र पृथ्वीसँग घरभित्रै दौडिरहनु पर्ने भएकाले बाहिर चाहिँ त्यति दौडिन पाएको छैन," उनले भने।

अध्ययन र अनुसन्धानको क्षेत्रमा उनको दौड चाहिँ निकै लामो अर्थात् म्याराथन नै हुने सजिलै अनुमान गर्न सकिन्छ।

बीबीसी नेपाली सेवाको अनलाइन संस्करणबाट साभार