काठमाण्डौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सुमन शर्माले जेठ २८ गतेदेखि सम्हालेका छन् । 

बैंकको चैत २८ गते बसेको ३७० औं संचालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गरेको थियो । 

एक्काईस बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । 

त्यसपछि शर्माले एनएमबी बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए ।

माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । 

शर्मा महेन्द्र विद्याभुषण(२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदक बाट सम्मानित भइसकेका छन् ।