काठमाण्डौ । देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई अक्वायर गर्ने भएको छ । वेस्टर्नलाई प्राप्ति गरेपछि यो बैंक देशमै सबैभन्दा बढी चुक्तापूँजी भएको विकास बैंक बन्नेछ । 

देव विकास बैंकका अध्यक्ष सुवर्णलाल बज्राचार्य र वेस्टर्न डेभलपमेन्ट बैंकका अध्यक्ष ओमभक्त बुढाथोकीले बुधबार प्राप्तिको सम्झौतामा हस्ताक्षर गरेका देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले बिजशालालाई बताए । 

वेस्टर्नलाई आफूमा गाभेपछि देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब माथि हुनेछ । ३ अर्ब बढी चुक्तापूँजी हालसम्म कुनै पनि विकास बैंकको छैन । यस्तै, यो बैंकले साहारा विकास बैंकलाई समेत आफूमा गाभ्ने चरणमा छ । साहारा र वेस्टर्न गाभिएपछि देवःको चुक्तापूँजी ३ अर्ब २५ करोड माथि पुग्नेछ । 

मर्जरपछि शाखा संख्या बढेर ७५ पुग्नेछ भने अर्को साउनसम्म शाखा सञ्जाल ८५ भन्दा माथि पुर्याइने सीइओ श्रेष्ठले जानकारी दिए ।

देवः विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २० करोड २३ लाख खूद नाफा आर्जन गरेको थियो भने वेस्टर्नले ६ करोड १९ लाख नाफा आर्जन गरेको थियो ।