काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो बीमा शुल्क गत वर्षको सोही अवधिसम्मको तुलनामा ९.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २० करोड ८६ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा ३४.९५ प्रतिशतले बढी हो। गत वर्ष यस्तो आय १ करोड ४९ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म कम्पनीको खुद दाबी भुक्तानी १८.७२ प्रतिशतले बढेर ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

कम्पनीकोे व्यवस्थापन खर्च १८.०२ प्रतिशतले बढेर १२ करोड ३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च १० करोड १९ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको बीमा कोषको आकार ६३.६० प्रतिशतले बढेर १३ करोड ५३ हजार रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म बीमा कोषमा ८ करोड २७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा तथा कोषको आकार पनि ७७.९४ प्रतिशतले बढेर ११ करोड ८० लाख रुपैयाँको उचाइमा पुुगेको छ । गत वर्ष यही अवधिसम्म जगेडामा ६ करोड ६३ लाख रुपैयाँ रहेको छ। 

यो अवधिसम्म कम्पनीले ६३ हजार ४२९ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७१ हजार ३०७ वटा बीमालेख जारी गरेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.२६ रुपैयाँ रहेको छ। पीई रेसिया ८०.४५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४० रुपैयाँ रहेको छ।