काठमाण्डौ । पछिल्लो समय विप्रेषण आप्रवाहमा निरन्तर गिरावट आउन थालेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले ह्रास भई रु. ३४० अर्ब ५४ करोडमा सीमित बन्न पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । फलस्वरुप, खुद ट्रान्सफर आय १.७ प्रतिशतले घटी रु. ३९३ अर्ब ३४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.६ प्रतिशतले बढेको थियो ।
श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा १.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.९ प्रतिशतले घटेको थियो ।
यसैगरी, अघिल्लो वर्षको छ महिनामा रु. १ अर्ब ८ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. ७५ अर्ब ७१ करोडले घाटामा रहेको छ ।
त्यसैगरी, अघिल्लो वर्षको छ महिनामा रु. ४५ अर्बले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ६ अर्ब ६६ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ७ अर्ब ३९ करोड रहेको थियो ।
विदेशी विनिमय सञ्चिति
२०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ पुस मसान्तमा १.१ प्रतिशतले कमी आई रु. १०६७ अर्ब ३४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई रु. ९३३ अर्ब ८२ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ पुस मसान्तमा १२.३ प्रतिशतले कमी आई रु. १३३ अर्ब ५२ करोड पुगेको छ । २०७४ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.२ महिनाको वस्तु आयात र १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.१ प्रतिशत, ८७.९ प्रतिशत र ३८.६ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19